काठमाडौँ — हङकङमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या पछिल्लो चार दिनयता निरन्तर १ सयभन्दा धेरै छ । यससँगै हङकङको कोरोना मृत्युदर पनि विश्वकै उच्च बनेको छ । विशेषगरी हङकङमा कोरोना खोप नलगाएका ज्येष्ठ नागरिकमा मृत्युदर उच्च देखिएको छ ।
हङकङका अधिकारीहरुका अनुसार उनीहरुले कोरोना संक्रमणबाट मानिसहरुलाई आवश्यक स्रोत साधन पनि वृद्ध स्याहार केन्द्रहरुलाई उपलब्ध गराइरहेका छन् । यद्यपि यो प्रयास उनीहरुलाई कोरोनाबाट बचाउन पर्याप्त हुन नसकेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ ।
यस्तोमा सरकारले ज्येष्ठ नागरिकबारे नयाँ नियम ल्याउनुपर्नेमा विशेषज्ञहरूले जोड दिएका छन् । उनीहरुले कोरोना खोप नलगाएका ज्येष्ठ नागरिकलाई छिटोभन्दा छिटो खोप दिनुपर्ने बताएका छन्। त्यस्तै संक्रमितलाई छुट्याएर विशेष उपचारको व्यवस्था गरिनुपर्ने आवाज पनि उठिरहेको छ ।
हङकङको पछिल्लो ७ दिनको औसतलाई हेर्ने हो भने प्रति एक लाख मानिसमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ दशमलव ८ देखिएको छ । दोस्रो स्थानमा रहेको लाटिभामा यो संख्या १० दशमलव ७१ र तेस्रोमा रहेको जर्जियामा यो संख्या ९ दशमलव ०५ देखिएको छ ।
शुक्रबार हङकङमा लगातार तेस्रो दिन कोरोनाका ५० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका थिए । यससँगै हङकङमा कोरोनाका समग्र संक्रमितको संख्या पनि ४ लाख ३ हजार पुगेको छ । त्यस्तै शुक्रबार कोरोना संक्रमणको कारण १३६ जनाको मृत्यु भएको थियो। शुक्रबार मृत्यु हुनेमध्ये ९७ जनाले कोरोना खोप लगाएका थिएनन् ।
फेब्रुअरी २५ देखि मार्च ४ सम्ममा हङकङमा १ हजार ८६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । त्यसअघि हङकङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१३ थियो । हङकङका ७२ प्रतिशत ज्येष्ठ नागरिक स्याहार केन्द्रमा कोरोना संक्रमण फैलिएको छ ।


प्रतिक्रिया