Breaking

प्रचण्ड–माधवसँग तालमेल गर्न काँग्रेस पछि हट्दै,चुनावी सहकार्य जटिल मोडमा


काठमाडौँ – एमसीसी अनुमोदनपछि सत्ता गठबन्धनमा आवद्ध दलहरुको मिशन चुनावी सहकार्यका विषयमा केन्द्रीत छ । तर दलहरुका आन्तरिक समस्याले तालमेल भएरै चुनावमा जाने विषय सुनिश्चित भएको छैन । गठबन्धनको नेतृत्व गरेको नेपाली काँग्रेस नै चुनावी तालमेलका विषयमा सकारात्मक देखिँदैन् ।

एमसीसी परियोजना पारित गर्न सघाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधकुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवासँग ढुक्क छन् ।

अब काँग्रेसकै जोडबलमा चुनावमा जाने र गठबन्धनमार्फत जितेर आउने । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त पार्टीको केन्द्रीय कमिटी बैठकमा रिपोटिङ पनि गरिसके । एमसीसी पारितपछि चुनावसम्मै गठबन्धन गर्ने वातावरण बन्यो भन्दै उनले माओवादी दोस्रो पार्टी बन्ने खबर पाएको तर पहिलो बन्ने गरि लाग्न कार्यकर्तालाई आग्रह गरे ।

तर पाँच दलीयबाट चारदलमा झरेको गठबन्धनभित्र अझै आन्तरिक छलफल गर्नुपर्ने नेपाली काँग्रेसको भनाइ छ । गठबन्धन निर्वाचनसम्म जाने कि नजाने सबै पार्टीमा आन्तरिक समस्या छन् ।

निर्वाचनसम्मै गठबन्धन गरेर जाने विषयमा नेतृत्वकर्ता नेपाली काँग्रेसभित्रै मत विभाजित छ ।काँग्रेसभित्रको शेखर कोइराला पक्षले चुनावमा तालमेल नहुने यसअघिदेखि नै स्पष्ट पार्दै आएको छ ।

तर एमसीसीमा प्रचण्ड–माधवले सघाएपछि तालमेल गररै जानुपर्ने दबाबमा देउवा छन् ।बिहिबार चुनावी सहकार्यका विषयमा गठबन्धनका शिर्ष नेताहरुले छलफल चलाएका थिए ।

जहाँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनलाई धकेल्दै संसद विघटन गर्ने र ताजा जनादेशमा जाने प्रस्ताव गरेका थिए । जसमा काँग्रेस नेता कृष्णप्रसाद सिटौलासमेतले समर्थन गरे । तर प्रधानमन्त्री देउवा यस विषयमा मौन बसिदिए ।झन स्थानीय तहको निर्वाचनमा केन्द्रदेखि नै गठबन्धन गर्नु अव्यवहारिक हुने काँग्रेस प्रवक्ताको भनाइले झनै सशंय ल्याएको छ ।

एमसीसीमा प्रचण्ड–माधव सहमत नभएको भए गठबन्धन टुटिसक्थ्यो । जुन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको चाहना हो । चुनावसम्मै गठबन्धन भए आफुलाई असहज हुने बुझेको एमाले अझै पनि गठबन्धन फुटाउने गृहकार्यमै छ ।

गठबन्धन फुटाउने र सभामुखलाई कारबाही गराउने मुद्धा एमालेले छोडेको छैन । यता तालमेल नभए आफु पराजित हुने मानसिकताबाट ग्रसित प्रचण्ड–माधव जसरी पनि गठबन्धन टिकाउन चाहन्छन् । तर काँग्रेस नै यसका लागि तयार हुनेमा शंका छ ।

स्थानीय तहको निर्वाचन आउन अब झण्डै साढे दुईमहिनाको समय बाँकी छ । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी तीव्र पारेको छ । चुनावमा सहभागि हुन ८० दल दर्ता भएका छन् ।मतदाता नामावालीको दाबी विरोध चलिरहेको छन् ।

तर अझै पनि गठबन्धनका दलहरु स्थानीय तह पहिला कि संसदीय निर्वाचन पहिला भन्ने बहसमै रुमल्लिएका छन् ।आ–आफ्नै अनुकुल लाभ लिने विषयमा केन्द्रीत बन्दा तोकिएकै मितिमा चुनाव हुन्छ त ?भन्ने प्रश्न झन झन जटिल बन्दै गएको छ ।