देश

युक्रेनमा शान्तिको कामना गर्दै बौद्धनाथमा मैनबत्ती प्रज्वलन


काठमाडौँ -युक्रेनमा शान्तिको कामना गर्दै संयुक्त राज्य अमेरिकासहित विभिन्न देशका राजदूतले काठमाडौंको बौद्धनाथमा मैनबत्ती प्रज्वलन गरेका छन् । युक्रेनमाथि आक्रमण जारी राखेको अवस्थामा नेपालस्थित विभिन्न देशका राजदूतले शान्तिको कामना गर्दै मैनबत्ती प्रज्वलन गरेका हुन् । बिहीबार साँझ बौद्धनाथमा मैनबत्ती प्रज्वलन गर्न अमेरिकी राजदूत जर्मनी, फ्रान्स, स्वीट्जरल्याण्ड र फिनल्याण्डका राजदूत पनि पुगेका थिए ।

विगत ८ दिनदेखि रूस र युक्रेनबीच युद्ध भइरहेको छ आठौं दिनमा आइपुग्दा रूसी सैनिकहरूले पूर्वी युक्रेनको एउटा क्षेत्रीय राजधानी कब्जामा लिएका छन् । युक्रेनको राजधानी किएभ कब्जा गर्ने उनीहरूको प्रयास जारी छ । नागरिकस्तरबाट रूसी आक्रमणको प्रतिरोध भइरहेकाले किएभको बाहिर पुगेको तीन दिन भइसक्दा पनि रूसी सैनिकले सहर कब्जा गर्न सकेका छैनन् ।

राष्ट्रसंघका अनुसार बुधबारसम्म २२७ युक्रेनी नागरिकको मृत्यु भएको छ भने ५२५ जना घाइते भएका छन् । यसमा केही बालबालिका पनि परेका छन् । यो अनुमानित आँकलन हो । यसअघि युक्रेनी सरकारले २ हजारभन्दा बढी नागरिकको मृत्यु भएको हुन सक्ने बताएको छ । युद्धका बेला ज्यान गुमाउनेको संख्या एकीन गर्न निकै गाह्रो हुन्छ । सैनिकतर्फको क्षतिमा पनि युक्रेन र रूसले फरक – फरक आँकडा सार्वजनिक गरेका छन् । युक्रेनले अहिलेसम्म ७ हजार रूसी सैनिक मारिएको दाबी गरेको छ ।

बुधबार पहिलो पटक युक्रेन युद्धमा ज्यान गुमाउनेको संख्या सार्वजनिक गर्दै रूसले आफ्ना ४९८ सैनिक मारिएको र १५९७ भन्दा बढी घाइते भएको जनाएको छ । युक्रेनतर्फ २८७० सैनिक मारिएको, ३७०० घाइते भएको र ५७२ लाई रूसी सेनाले नियन्त्रणमा लिएको मस्कोको दाबी छ । सोहि अबस्थामा बिहीबार साँझ बौद्धनाथमा मैनबत्ती प्रज्वलन गर्न अमेरिकी राजदूत जर्मनी, फ्रान्स, स्वीट्जरल्याण्ड र फिनल्याण्डका राजदुत काठमाडौँ स्थित बौद्धनाथ पुगेर दिप प्रज्वलन गरेका थिए ।