Breaking

पेट्रोलियम पदार्थको मूल्य इतिहासकै उच्च ९३ रुपैयाँमा किनेको पेट्रोल १५० मा बेच्दा पनि घाटा


काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्य इतिहासकै उच्च भएको छ । इन्डियन आयल कर्पोरेसन( आईओसी )ले ३ दिनअघि मार्च १ मा पठाएको नयाँ सूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

सर्वसाधारणले धान्नै नसक्ने गरी मूल्य बढाए पनि सरकारले इन्धनमा लगाएको अनावश्यक कर घटाएर राहत दिन भने कुनै चासो दिएको छैन । आईओसीबाट ९३ रुपैयाँ ७६ पैसामा खरिद गरेको पेट्रोलमा ५९ .४८ रुपैयाँ र ९४ रुपैयाँ १२ पैसामा खरिद भएको डिजेलमा ४२.१६ रुपैयाँ कर लाग्छ ।

त्यस्तै ८८.८३ रुपैयाँमा किनिएको मट्टीतेलमा १३.३६ रुपैयाँ कर लाग्ने गरेको छ । त्यसबाहेक निगमको खर्च, ढुवानी भाडा, पेट्रोलियम विक्रेता खर्चरमुनाफासहित जोडेर बिक्री मूल्य तय हुन्छ  ।

निगमले इन्धनमा अझै घाटा रहेको जनाएको छ । पेट्रोलमा १६ रुपैयाँ २८ पैसा र डिजेलमा ११ रुपैयाँ ७८ पैसा घाटा हुने निगमको दाबी छ । मट्टीतेलमा भने निगमलाई प्रतिलिटर १९ रुपैयाँ ५१ पैसा नाफा छ ।

पूर्वाधारका नाममा प्रतिलिटर १५ रुपैयाँ कर थपिए पनि त्यस्तो बचत सरकारी कोषमा छैन । सुरुमा बूढीगण्डकी जलविद्युत् परियोजनाका नाममा रकम उठाउन थालिए पनि यो परियोजना सुरु भएको छैन ।

निगमले लागू गरेको मूल्यले नेपालमा नयाँ रेकर्ड कायम गरेको छ । यसअघि गत माघ १९ मा मूल्य समायोजन गर्दा पेट्रोल प्रतिलिटर १ सय ४२ रुपैयाँ पुगेको थियो । उक्त मूल्य पनि इतिहासकै उच्च थियो ।

२०७० फागुन ३० मा पेट्रोल प्रतिलिटर १ सय ४० रुपैयाँ पुगेको थियो । २०७३ साउनमा घटेर प्रतिलिटर ९७ रुपैयाँ भएको थियो । उतारचढाव हुँदै २०७६ चैतमा फेरि ९७ रुपैयाँ कायम भएको थियो ।

त्यसयता निरन्तर मूल्य बढिरहेको छ । पेट्रोलसँगै डिजेल र मट्टीतेलको मूल्य पनि इतिहासकै उच्च हो ।