Breaking

झापामा २ किशोरीमाथि सामूहिक बलात्कार, ३ आरोपी पक्राउ


काठमाडौँ — १५ वर्षका दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा झापाबाट प्रहरीले तीनजना युवकलाई पक्राउ गरेको छ ।

झापाको गौरीगञ्ज गाउँपालिका–२ भाकुरमारीबाट दुई जना र भद्रपुर नगरपालिका–४ बाट एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गौरीगञ्जमा पाहुना आएकी १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा भाकुरमारीका २२ वर्षीय प्रमोद राजवंशी र २४ वर्षीय देवकुमार राजवंशी पक्राउ परेका हुन् । उनीहरुले बुधबार साँझ भारतीय सीमानजिक जवानमुन्सी मेला घुमेर फर्किने क्रममा किशोरीलाई नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेका प्रहरीले जनाएको छ ।

किशोरीका अभिभावकले बिहीबार इलाका प्रहरी कार्यालय गौरीगञ्जमा जाहेरी दिएका छन् । १५ वर्षीया अर्की किशोरीलार्य जबर्जस्ती करणी गरी फरार भएका एक युवकलाई पनि प्रहरीले पक्राउ गरेको छ । भद्रपुर नगरपालिका ४ का १९ वर्षीय रमेश लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

लिम्बूले फागुन १७ गते स्थानीय १५ वर्षीया बालिकालाई खेतमा गएको बेला जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका तीनै युवकलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।