Breaking

हिमाली क्षेत्रको संस्कृति संरक्षणमा राज्य उदासिन


काठमाडौँ – आज ग्याल्पो ल्होसार, हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा सहित विभिन्न समुदायले हर्षउल्लासका साथ यो पर्व मनाएका छन । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसारलाई नयाँ वर्षको रुपमा मनाइने गरिन्छ ।

महायानी बौद्ध धर्मवलम्बिहरुको राष्ट्रिय चाड छु फो ताक्लो २१४९ औ ग्याल्पो ल्होसार आजबाट सुरु भएको छ । ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री शेरबहादुर देउवा,उपराष्ट्रपति नन्द बहादुर पुन,लगायतले ल्होसारको अवसरमा शुभकामना व्यतm गरेका छन् ।

विशेषत शेर्पा समुदाय साथै अन्य महायानी बौद्ध परम्परा मान्ने हिमाली समुदायले हर्षउल्लासका साथ मनाउने ग्याल्पो ल्होसार प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाबाट सुरु भई १५ दिनसम्म मनाइने गरिन्छ । ल्हो को अर्थ वर्ष र सार को अर्थ नयाँ अर्थात् पुरानो वर्षलाई विदाई गर्दै नयाँ वर्षको सुरुवात हो । यो वर्ष भोट चन्द्र पात्रो अनुसार लाङ लो अर्थात् गोरु वर्षलाई विदाई गर्दै ताक्लो अर्थात् बाघ वर्ष सुरु भएको छ ।

कोरोना महामारीका कारण नियमित रुपमा हुने ठूला साँस्कृतिक कार्यक्रमहरु यो वर्ष पनि प्रभावित भएको छ । तथापी विगतको वर्षहरु भन्दा तुलनात्मक रुपमा सहज भएको छ । मुलुकभित्र मात्र नभई शेर्पाहरुको बाहुल्यता भएका विभिन्न अन्य मुलुकमा समेत ल्होसार भव्यताका साथ मनाउने गरिएको छ ।

विगतमा हिमाली क्षेत्रमा मात्र सीमित ल्होसार पर्व अहिले राष्ट्रियस्तरमा मनाउन थालिएको छ । नेपालको हिमाली क्षेत्र सहासिक पर्यटन मात्र नभई धार्मिक तथा साँस्कृति रुपमा समेत प्रचुर सम्भावना भए पनि राज्य वेखबर भएको संस्कृति अभियन्ताहरुको आरोप छ । हिमाली समुदायको संस्कृति संरक्षणमा राज्यको ध्यानकर्षण हुनु पर्ने उनीहरुको माग छ ।

आदिवासी समुदायले आफ्नो पर्वहरु अझै पनि राज्यसँग अधिकार खोज्ने अभियानका रुपमा मनाउँदै आएको छ । राष्ट्रिय चाड ग्याल्पो ल्होसारलाई हिमाली समुदायले हिमाली क्षेत्रको संस्कृति संरक्षण र प्रवर्दनमा राज्यको ध्यानकर्षण गराउने अभियानको रुपमा मनाउँदै आएका छन् ।