Breaking

नेताहरुको यु टनका काराण घट्दै छ जनताको विश्वास


काठमाडौँ – राजनीतिमा नैतिकता र अस्थित्व स्वीकारको परम्परा हट्दै जाँदा शीर्ष नेतृत्वमै विश्वासको खडेरी पैदा गराएको छ । तल्लो स्तरको गाली र बोली अनुसारको व्यवहार देखाउन नसक्दा नेताप्रति नागरिकको विश्वास पनि कम हुदै गएको हो ।

अर्कोतर्फ एकले अर्कालाई दलाल करार गर्ने नाममा सवै नेताहरु नै दलाल भएको भाष्य समेत स्थापित हुँदै गएको छ । आफूलाई खरो राष्ट्रवादीको कित्तामा उभ्याउन अमेरिकी सहयोग परियोजना एमसीसीलाई वद्नाम गराएका नेताहरु अहिले चुपचाप छन् । एमसीसीको वास्तविकता प्रति आम जनमत विस्तारै सकारात्मक बन्दै जाँदा हिजो अफवाह फैलाउनेहरु भने जनताको नजरमा खुइलिएका छन् ।

वैकल्पिक राजनीतिको वकालत गर्दै विवेकशील साझा पार्टीको नेतृत्व गरेका रविन्द्र मिश्र कुनै समय आकाश नै झार्ने जसरी अघि बढेका थिए । देश खराव राजनीतिको चक्रव्युहमा परेको बताँउदै विकल्पको ठेक्का आफूले मात्रै लिए जसरी प्रस्तुत हुने गरेका उनी अन्तत विचारभन्दा माथि देश भन्दै राजतन्त्रको मुद्धामा फर्किएका छन् ।

मिश्रले आम मानिसको वैकल्पिक राजनीति प्रतिको धारणमा चिसो पानी खन्याएपछि नयाँ वहस नै सिर्जना गरेको छ । धर्मको राजनीति गर्ने कमल थापाले गीताको कसम नै तोडिदिए । कहिल्यै पार्टी नफुटाउने कसम खाएका उनले हारको पीडा सहन गर्न सकेनन् । अन्ततः राप्रपा नेपालको नेतृत्व लिएर आफ्नै कसमलाई गलत तुल्याईदिएका छन ।

मधेशी दलहरुले गरेको धोकधडीको हिसाव किताव नै छैन । मघेशको सच्चा नेतृत्वकर्ता आफू मात्र रहेको बताउने उनीहरु वेहिसाव एकता र टुटफुटको रडाको मच्याइरहेका छन् । सत्ता पाउनासाथ मधेशका मुद्धालाई तिलान्जली दिन पछि नपर्ने उनीहरुलाई मधेशमै अर्को विकल्पले चुनौती दिन थालिसकेको छ ।

यी उदाहरणहरुले नेताको बोली, चरित्र र व्यवहारमा देखिएको फरकपन प्रष्ट पारेको छ, जसले नेताप्रतिको सर्वसाधारणको विश्वास कम हुँदै गएको छ । नेताहरुको विश्वास घट्दै गएको कुरा स्वयम् नेताहरुले समेत महसुस गरेका छन् । यहि कारण आफूहरुलाई गाउमा चोर आयो भन्ने गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक कार्यक्रममै अभिव्यक्ति दिएका थिए ।

नेताहरु सच्चिन तयार रहेको बताएका उनले संसद् संसद्जस्तो अदालत अदालत जस्तो नबनेको तथा ती सबैलाई सहि बाटोमा ल्याउने राजनीति समेत लिकमा नभएको बताएका थिए । अवस्था नेतृत्ववीचको विश्वासमा पनि उस्तै छ । एकले अर्कालाई प्रयोग गरेर आफू सत्तामा पुग्ने दाउमा रहेका शीर्ष नेतृत्वहरुबीचमा विश्वासको खाडल गहिरिँदै गएको छ ।

त्यस्तै मर्यादा र शिष्टता नै विर्सिएर अरुलाई खुल्याउन तल्लोस्तरको गाली गर्नमा व्यस्त उनीहरु त्यसले आफ्नो व्यक्तित्वमाथि पनि प्रश्न उठाएको मान्न तयार छैनन् । एकले अर्कालाई दलालको करार गर्ने र आफूमात्र सहि बन्न लागि पर्ने नेतमहरु आफू सिसाको घरमा वसेर अर्को घरमा ढुंगा प्रहार गरिरहेका छन ।

हुन त जनताको लागि राजनीति गरेको भन्ने रटान लगाउन कुनै पनि राजनीतिक दल पछि पर्दैनन् । तर उनीहरुको क्रियाकलाप सत्ता केन्द्रित मनोवृत्तीबाट माथि उठ्न सकेको छैन भने दलहरु पनि सत्तामा पुग्ने माध्यममा मात्र सीमित बनेका छन ।

आम नागरिकले महसुस गर्ने गरी परिर्वन ल्याउने तर्फ वहस गर्न नसक्ने उनीहरु कुराले भने स्वीजरल्याण्डको सपना बाढिरहेका छन् । देशका सबैस्थान र अंगमा चरम राजनीतिकरण गरेर आफ्ना स्वार्थसिद्धीमा लागेका नेताहरुको कारण नागरिकले भने राज्य हनुको अनुभूत गर्न सकेका छैनन् ।