प्रदेश–१

बलात्कारका आरोपी दुई जना पक्राउ


काठमाडौँ- झापाको गौरीगञ्जमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका-२ भाकुरमारीनिवासी अन्दाजी २२ वर्षीय प्रमोद राजवंशी र सोही ठाउँका अन्दाजी २४ वर्षीय देवकुमार राजवंशी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार दिउँसो करिब ४ बजे ती किशोरी भैँसीका लागि पराल लिन गएकी थिइन् । सोही वेला ती २ जनाले उनलाई जबरजस्ती करणी गरेका थिए। ती दुवै जना नेपाल- भारत सिमाना नजिक जबानमुन्सीमा महाशिवरात्रिको भोलिपल्ट बर्सेनि लाग्ने मेला घुम्न गएका थिए। बलात्कारको शिकार भएकी किशोरी ५ महिनादेखि आफन्त पर्ने दाजुको घरमा बस्दै आएकी थिइन् ।

किशोरीको घर झापा गाउँपालिका हो। दाजुलाई घटनाबारे जानकारी गराएपछि परिवारजनले तत्काल इलाका प्रहरी कार्यालय गौरीगञ्जमा घटनाको किटानी जाहेरी दिएका थिए । प्रहरीमा किटानी जाहेरी परेपछि प्रहरी कार्यालय गौरीगञ्ज प्रहरी निरीक्षक राकेश रेग्मी नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।