खेलकुद

सुदूरपश्चिम खप्तड गोल्डकप आजदेखि हुँदै


काठमाडौँ – धनगढीमा आजदेखि ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ प्रतियोगिताको सुरु हुँदै छ । सुदूरपश्चिम–११ स्पोर्टस् क्लबको आयोजनामा फागुन १९ गतेदेखि २८ गतेसम्म धनगढी रङ्गशालामा सञ्चालन हुने सर्वाधिक राशिको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको हुन लागेको क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिएका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लब र भारतको दिल्ली फुटबल क्लब भिड्ने छन् । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । आयोजक सुदूरपश्चिम–११ सहित मनाङ–मस्र्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, न्यूरोड टिम, नेपाल आइस हिमालयन शेर्पा क्लब, नव जनजागृति युवा क्लब सिमरा, बागमती युवा क्लब सर्लाही, दिल्ली फुटबल क्लब भारत, एभेनिर फुटबल क्लब क्यामरुन र एनआइबिएल फ्रेन्डस क्लब काठमाडौ्र गरी १० टिम सहभागी हुनेछन् ।

सुदूरपश्चिम प्रदेशको गरिमा बोकेको यस प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद रु एक लाख पुरस्कार प्रदान गरिनेछ । त्यस्तै विभिन्न विधाका उत्कृष्टलाई १५ \१५ हजार र प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ खेलाडीलाई १० हजार दिइनेछ।