देश

वीरेन्द्रनगरको निषेधाज्ञा पूर्ण रुपमा हट्यो


काठमाडौँ -सुर्खेतको वीरेन्द्रनगरमा जारी गरिएको निषेधाज्ञा बिहीबार बिहान ६ बजेदेखि पूर्ण रुपमा हटाइएको छ।एमसिसीको विरोधमा भएको प्रदर्शनको क्रममा केही समूहले उग्ररुप लिए पछि सुर्खेत जिल्ला सुरक्षा समितिले सोमबार बेलुका ८ बजेदेखि मंगलबार बेलुका ७ बजेसम्म कर्फ्यू लागु गरेको थियो।

मंगलबार दिउँसो स्थिति सामान्य बनेपछि कर्फ्यू हटाएर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको थियो।मंगलबार दिउँसोदेखि लागु हुनेगरी वीरेन्द्रनगर बजार क्षेत्र, यरीचोक, मंगलगढी चोक, हटियालाईन, हटियाचोक क्षेत्रमा पाँच जना भन्दा धेरै मानिस जमघट हुन नपाउनेगरी निषेधाज्ञा लगाईएको थियो।

बिहीबार बेलुका सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले हाल जिल्लाको शान्ति सुरक्षाको स्थिति सामान्य अवस्थामा आईसकेकोले बिहिबार बिहान ६ बजेदेखि निषेधाज्ञा हटाईएको जानकारी गराएको हो।विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ६ राजनीतिक दल र दुई वटा मोर्चाले आह्वान गरेको विरोध प्रदर्शन देशभर चलेको थियो। प्रदर्शनका क्रममा भौतिक रुपमा क्षति पुगेको भने सुर्खेतमा मात्र हो। सुर्खेतमा रहेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमासमेत आक्रमण गरिएको छ ।

प्रदर्शनकारीले ढुंगामुढा गर्दा नेपाली कांग्रेसको पार्टी कार्यालयका दुई वटा झ्यालका सिसा फुटेका छन्। यस्तै सुर्खेत उद्योग वाणिज्य संघको कार्यालयको डिजिटल बोर्ट फुटेको छ।

नेकपा माओवादी केन्द्रको कार्यालयमा ढुंगामुढा गरिए पनि क्षति भने नपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

एमाले पार्टी कार्यालयमा उक्त समूहले आगो नै लगाउने प्रयास गरेको थियो। कार्यालयको ग्यालरीमा केही वस्तु जम्मा गरेर प्रदर्शनकारीले आगो बालेका थिए। लगत्तै प्रहरी पुगेपछि थप क्षति भने हुन पाएन।

एमाले पार्टी कार्यालयमा प्रहरी पुगेपछि ढुंगामुढा हुँदा दुई जना घाईते भए। एक जनाको काठमाडौंमा उपचार भईरहेको छ भने एक जनाको सुर्खेतमै उपचार भईरहेको छ ।

पार्टी कार्यालयमा कुनै क्षति नभएको एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले बताए।

यस्तै प्रदर्शनकारीले मुख्य चोकमा राखिएका दुई वटा प्रहरी बीटमा क्षति पुर्‍याएका छन्। मंगलगढी र यरीचोकमा राखिएका प्रहरी बीटमा उनीहरुले आगो लगाईदिएका हुन्।

सोमबारको प्रदर्शनका क्रममा केहीप्रहरी समेत घाईते भएका छन् । घाईतेमध्ये १२ जनालाई सामान्यको सामान्य उपचार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।