राजनीति

एमसीसी पाससँगै नेपालको समर्थन युक्रेनलाई, देउवा र ब्लिन्केनको फोनवार्ताले ल्याएको तरंग


काठमाडौँ – पूर्वी यूरोपका दुई छिमेकी मुलुक रुस र युक्रेनबीचको द्वन्द सुरु भएको एक साता पुगेको छ । युद्ध अझै कति लम्बिन्छ यकिन गर्न गाह्रो छ । युक्रेन–रुस युद्धमा विश्व विभाजित भईरहँदा नेपालले एकाएक युक्रेनको पक्षमा उभिएपछि कुटनीतिक क्षेत्रमा चासो बढेको छ ।

संवेदनशील भू–राजनीतिक अवस्थितिमा रहेका युक्रेन आफ्नै छिमेकी मुलुक रुसको आक्रमणका कारण युद्धभूमिमा परिणत भएको छ । शान्ति वार्ता असफल भएसँगै युक्रेन विरुद्ध रुस थप आक्रमक बन्दै गएको छ ।

आफ्नो मुलुकको प्रतिरक्षा गर्न राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहित युक्रेनी नागरिक हतियार बोकेर राजधानी किभका सडकमा छन् भने युक्रेनले अन्तर्राष्ट्रिय मुलुकबाट सहयोग पनि जुटाईरहेका छन् ।

युक्रेनमा रहेका नागरिकको सुरक्षा, नेपाली अर्थतन्त्रमा पर्ने असर मात्र नभई संयुतm राष्ट्रसंघको सदस्य राष्ट्र भएकाले रुस–युक्रेन घटनामा नेपाल कतातिर उभिन्छ चासो स्वभाविक थियो । किनभने यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिलाई पनि प्रभाव पार्छ । नेपाल कता उभिन्छ भन्ने चर्चाकैबीच नेपालले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्मा युक्रेनको पक्षमा मतदान गरेको छ ।

रूसी आक्रमणबारे आपतकालीन छलफल गर्नुपर्ने युक्रेनको प्रस्तावमा नेपाल सहित २९ मुलुक पक्षमा उभिएका छन् । छिमेकी मुलुक चीनले विपक्षमा मत हालेको छ भने भारत अनुपस्थित रह्यो । तर नेपाल युक्रेनको पक्षमा उभिएपछि कूटनीतिक क्षेत्र तरंगित बनेको छ ।

नेपालले रूस–युक्रेन आक्रमणको पहिलो दिन नै विज्ञप्ति जारी गरेर युक्रेनमाथि रूसले गरेको आक्रमण संयुक्त राष्ट्रसंघको बडापत्रविपरीत भएको बताएको थियो । यसको आचोलना सेलाउँन नपाउँदै कुनै बेला नेपाल संयुक्त राष्ट्रसंघको सदस्यता पाउनु हुँदैन भनेर कडा विरोध गर्ने युक्रेनको समर्थनमा नेपाल हतारिएको टिप्पणी हुन थालेको छ ।

अर्कोतर्फ ठुलो रस्साकस्सीपछि अमेरिकी सहयोग परियोजना एमसीसीका कारण ओहोदाक्रमको ख्याल नै नगरी जारी नेपाल–अमेरिका संवाद र रुस–युक्रेन घटनामा पनि छलफल भएको प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले आ–आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएपछि थप तर्क वितर्क सुरु भएको छ ।

संवेदनशील कुटनीतिक क्षेत्रमा ठाडो राजनीतिक हस्तक्षेपका कारण मुलुकको कुटनीतिक क्षेत्र थप संकट उन्मूख हुने भय पैदा भएको छ । असंलग्न र पञ्चशीलको सिद्धान्तमा आधारित परराष्ट्र नीति अंगालेको नेपाल सानो मुलुक भएको हिसावले युक्रेनको पक्षमा उभिनु परराष्ट्र नीति अनुकुल हो र होइन बहस सुरु भएको छ ।

शितयुद्धका बेलामा समेत छिमेकी मुलुक, तत्कालिन सोभियत संघ र अमेरिकासँग सन्तुलित कुटनीति कायम गरेको नेपालले धूर्विकृत र बदलिँदो विश्व राजनीतिमा आफुलाई कसैको पक्ष वा विपक्षमा भन्दा पनि सन्तुलित विदेशनीति कायम गर्नु विकल्प छैन ।