राजनीति

प्रचण्ड–माधवले बोली फेर्दा कार्यकर्ता तनावमा, दोश्रो तहका नेता टुलुटुल हेर्न बाध्य


काठमाडौँ – पार्टीको नीतिगत निर्णय भन्दा व्यक्तिगत स्वार्थका आधारमा निर्णय लिने शीर्षस्थ नेताहरुको चरित्रका कारण राजनीतिक दलहरु निजि सम्पत्ति जस्तै बन्दै गएका छन् । जसले पार्टी भन्दा व्यक्तिवादी प्रवृत्ती हावी हुदै गएको छ भने कार्यकर्ता र दोश्रो तहका नेताहरुको क्षमतामाथि समेत प्रश्न उठ्न थालेको छ । फलत: कार्यकर्ताहरु केवल टाउँको गन्तीमा सिमित बन्न थालेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसीसी पास गर्ने अडान लिँदा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले वोलेका कुराहरु यतिवेला धेरैले सम्झिरहेका छन् । एमसीसी प्रति अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको यु टर्न र अभिव्यक्तिबाट रुष्ट बनेका अर्का नेता नारायणकाजि श्रेष्ठले पार्टी नै फुटाउने तयारी गरेको सम्मका चर्चा भैरहेका छन् ।

निर्णयबाट असन्तुष्ट श्रेष्ठले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसंग भेटवार्ता नै गरेका छन् भने प्रचण्डले श्रेष्ठलाई फकाउन सुरु गरेका छन् । एमसीसी प्रकरणमा पार्टीभित्र विवाद देखिएसँगै पूर्व एकता केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, विश्वनाथ साह, सांसद अञ्जना बिसंखे र युवा नेता जीवन गौतम लगायतले विद्रोह गरेर पार्टी फुटाउने हुन् कि भन्ने प्रचण्डमा त्रास बढेको छ ।

पार्टी महाधिवेशनले यथास्थितीमा एमसीसी पारित गर्न नसकिने निर्णय गरे पनि प्रचण्ड एक्लैले व्याख्यात्कम टिप्पणीको साहरामा सो संझौता पारित गर्ने निर्णय लिएपछि माओवादी आन्तरिक विवादमा फसेको छ । प्रचण्डको यहि निर्णयका कारण एमसीसीका विरुद्धमा चर्को वोल्दै आएका लेखनाथ न्यौपाने, लिलामणि पोखरेल लगायतका नेताहरुले त चर्को नैतिक प्रश्नको सामना गरिरहेका छन् ।

यहि हालत एकीकृत समाजवादीमा पनि छ । अध्यक्ष माधवकुमार नेपालले पार्टी निर्णय विरुद्ध अन्तिममा एमसीसीमा त्वम् शरणम् गरेपछि सम्मानित नेता झलनाथ खनाल सदनमै विरोध गरे भने मतदान प्रक्रिया नै गरे । यी परिस्थीती पार्टीको नितिगत निर्णय विरुद्ध शिर्ष नेतृत्वले लिएको व्यक्तिगत निर्णयको प्रभाव हो ।

पार्टीभित्र भएको निर्णय अनुसार नै अन्य नेता तथा कार्यकर्ताले धारणा बनाउने तथा अभिव्यक्ति दिने गर्छन् तर अन्तिममा शिर्ष नेतृत्वले त्यसको उल्टो निर्णय गरेपछि अन्य नेता कार्यकर्ता नैतिक संकटमा परेका हुन् । अर्कातर्फ पार्टीभित्र दोश्रो तहका भनिएका नेताहरुको उपस्थिती समेत यस्ता कदममा निर्णायक बन्न नसक्दा पार्टीहरुमा समस्या आउने गरेको छ ।

एमाले विभाजन ताका दश भाईले देखाएको चरित्र र अभिव्यक्तिले समेत यसलाई पुष्टि गरेको थियो । आफूले चाहे आकाश नै थाम्दिने जसरी अघि बढेका उनीहरु नेपालले नयाँ पार्टी बनाउने तथा अध्यक्ष केपी शर्मा ओली आफू नझुक्ने अडानको चेपुवामा परेका थिए ।

अन्तत: सेफल्याडिङ खोजेका उनीहरु शिर्ष नेतृत्वको निर्णय सामु आफ्नो पूर्ववत् अडान तिलान्जली दिन बाध्य बने । जुन नेपालका सबैजसो राजनीतिक पार्टीको कमजोरी भएको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बताउछन् । आफ्नो व्यक्तिगत स्वार्र्थपूर्ती हुने देखिएका पार्टीकै निर्णय विपरित जाने यस्तो प्रवृत्ति सहकर्मी र कार्यकर्तामाथि गरिने भ्रमको खेतीको उपज भएको उनले भनाई छ ।

एमालेले त माओवादी र एकीकृत समाजवादीबाट वा वादीको पार्टी र ओली क्लवको संज्ञा नै पाईसकेको छ । महाधिवेशन देखि विभिन्न पार्टीगत निर्णयमा अध्यक्ष केपी शर्मा ओलीले यसलाई चरितार्थ गरिरहँदा आफूलाई अग्रमनकारीहरु भन्ने उनीहरु पनि यहि बाटोमा देखिएका छन ।

त्यस्तै विधान र पार्टीको निर्णयमा नचलेर अध्यक्षले अधिनायकवादी चरित्र देखाएको भन्दै धेरैथोरै सबै पार्टीमा अन्तुष्टिका आवाजहरु बारम्बार सुनिन्दै आएको छ । फरक मतलाई नस्वीकार्ने तथा आफ्नो मनमौजी चल्ने पार्टी बनाउन शिर्ष नेताले अनेक हत्कण्डा अपनाँउदा पार्टी फुट्ने क्रम समेत बढेको छ ।