काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नयाँ नेतृत्त्वलाई कसैको प्रभावमा नपरी काम गर्न निर्देशन दिएका छन् । पुँजी बजारको वर्तमान अवस्था सम्बन्धमा मन्त्रालयले नेप्से र धितोपत्र बोर्डको नयाँ नेतृत्वसँग गरेको छलफल गर्दै गुनासो सुन्नुपर्ने अवस्था नआउनेगरी काम गर्न निर्देशन दिएका हुन् ।
बुधबार अर्थ मन्त्रालयमा आयोजित पुँजीबजारको वर्तमान अवस्था सम्बन्धी छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले सेयर बजारमा राम्रा भन्दा धेरै विकृति भएकाले तत्काल सुधार गर्न निर्देशन दिए । बजारमा भित्री कारोबार, कर्नरिङलगायत गतिविधि बढेकाले लगानीकर्ताको सम्पत्तिको सुरक्षाका लागि विशेष प्रवन्ध मिलाउनुपर्नेमा उनले जोड दिए ।
सो क्रममा अर्थमन्त्री शर्माले बोर्ड र नेप्सेलाई ११ बुँदे निर्देशन दिएका थिए । यस्ता छन् अर्थमन्त्रीले दिएका ११ बुँदे निर्देशन :
१) पुँजीबजारलाई लगानीकर्तामैत्री बनाउन छिमेकी मुलुकहरू भारत, चीन, पाकिस्तान, बंगलादेश, अमेरिका, बेलायतमा कसरी पुाजीबजार संचालन भएको छ भन्ने अध्ययन गर्ने ।
२) पुँजीबजारबाट कसरी पुँजीनिर्माण गर्न सकिन्छ रु त्यो अध्ययन गर्ने र ठूला पुर्वाधार, उत्पादन, पुँजी निर्माणका लागि पुँजी संकलन गर्ने व्यवस्था मिलाउने ।
३) २० कात्तिक ०७५ देखि नयाँ सुरु भएको अनलाइन कारोबार प्रणालीलाई अझै प्रयोगकर्तामैत्री बनाउने ।
४) साना कम्पनी, स्टार्टअप कम्पनीलाई पुँजीबजारमा प्रवेश गराउने । एसएमई तथा ओटीसी बजारको विकास गरी भेन्चर क्यापिटलको विकास गर्ने ।
५) ओटीसी बजारको विकास गर्ने । इन्ट्रा डे कारोबार र सर्ट सेलिङ गर्न मिल्ने गरी प्रणालीको सुधार गर्ने ।
६) अटोमेसन अक्सन सुरु गर्ने । अक्सनबजार लिलामीबाट सुरुमा बिक्री हुन नसकेका सेयर र खरिद बिक्री हुन नसकेका कारोबारको देशभर सबै लगानीकर्ताले खरिद गर्न पाउने व्यवस्था मिलाउने ।
७) ब्रोकरलाई सक्षम बनाउन ‘सब–ब्रोकर’ मोडल तयार गर्ने । डेरिभेटिभ्स औजार बनाई कारोबार गर्ने । कमोडिटी एक्सचेन्ज सम्बन्धी ऐनलाई अघि बढाउने ।
८) अर्थतन्त्रको प्रतिनिधित्वगर्ने बैज्ञानिक तवरले निर्माण गरिएको नयाा परिसूचक तयार गर्ने ।
९) उत्पादनमूलक धेरै कम्पनी सेयर मार्केट भन्दाबाहिर रहेकाले सेयर बजारमा ल्याउन बुक बिल्डिङ प्रणाली लागू गर्ने । इण्डेक्स फण्ड तथा ट्रेडेड फण्डको सुरुवात गर्ने ।
१०) ब्रोकरद्वारा मार्जिन लेन्डिङ कारोबार कार्यान्वयनमा ल्याउने । ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकिङ संस्थामार्फत मार्जिन लेन्डिङ प्रक्रिया अघि बढाउने ।
११) सर्कुलर कारोबार, पम्प एड डम्प र इनसाइडर ट्रेडिङ रोक्ने । पुँजीबजार सम्बन्धी जनचेतना, पुँजीबजार साक्षरताको संचालन, तालिम केन्द्रको स्थापना गर्ने ।
प्रतिक्रिया