खेलकुद

ओडिआईमा पनि कप्तानको जिम्मा सन्दीपलाई नै


काठमाडौँ – नेपाली क्रिकेट टोलीको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई)को कप्तानको जिम्मेवारी पनि सन्दीप लामिछानेलाई दिने पक्का भएको छ । यसअघि टी–२० क्रिकेटमा पनि कप्तानको जिम्मेवारी लामिछानेलाई नै दिएको थियो ।

तीन महिना अघि नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्ललाई अनुशासनको कारण देखाउँदै कारवाहीसँगै कप्तानबाट पदमुक्त गर्दा सन्दीप कप्तानमा नियुक्त भएका थिए । ओडिआईको कप्तानी पनि सन्दीपले नै गर्ने कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

नेपाल दुई सातापछि युएईमा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत युएई र पपुवा न्युगिनीसँग ओडिआई त्रिकोणात्मक सिरिज खेल्दैछ । उक्त सिरिज अघि नेपाली टोली बिहीबार अभ्यासको लागि श्रीलंकामा चार अभ्यास खेल खेल्नेछ ।

नेपालले २० सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको थियो । १६ सदस्य टोलीले श्रीलंका हुँदै युएई भ्रमण गर्नेछन् । सन्दीप ओडिआईमा कप्तानी गर्ने नेपालबाट पारस खड्का र ज्ञानेन्द्र मल्लपछि तेस्रो खेलाडी बन्नेछन् ।

नेपालले उपकप्तान भने सार्वजनिक गरेको छैन । सन्दीपकै कप्तानीमा नेपालले यसै महिना ओमानमा चार देश सम्मिलित टि२० आई सिरिज र आईसीसी टि२० विश्वकप छनोट ए खेलेको थियो ।