समाचार

महाशिवरात्रिमा पशुपतिको फरक पाटो : किन हुन्छ गाँजा र नागा बाबाको चर्चा (भिडियोसहित)

किन ल्याउछ गुठी संस्थान पैसा दिएर नागा बाबा ?


काठमाडौँ — फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव शिवको पूजाआराधना गरी मनाईएको छ । पर्वको अवसरमा पवित्र पाशुपत क्षेत्र शिवमय बनेको छ । महाशिवरात्रीमा दशनार्थीको घुँईचो लाग्ने पाशुपत क्षेत्र गाजा,नागा वावा र उनीहरुले गर्ने क्रियाकलापले समेत परिचित हुने गरेको छ ।

वर्षभरीमा पर्ने चार रात्रीमध्ये सबैभन्दा महत्वपूर्ण एक शिवरात्रीको अवसरमा पवित्र पाशुपत क्षेत्रमा दर्शनार्थीको मात्र नभएर साधु सन्त र वावाजीको समेत भिड रहने गर्छ । जहाँ पुग्नेहरु पनि केवल भगवान पशुपतीको दर्शन हेतुमात्र पुग्ने गर्दैनन् । बरु नागा वावाले गर्ने चर्तिकला र उनीहरुले नै ल्याउने गाँजा सेवन गर्न पाईने आशामा समेत यो दिन पशुपती पुग्नेहरुको संख्या ठूलै रहन्छ ।

कतिपय अवस्थामा महिला श्रद्धालुहरुका लागि अपाच्य हुने तथा अश्लिलता फैलाउने किसिमका गतिविधि समेत गर्ने यस्ता नागा वावाहरुका विषयमा प्रश्न समेत उठ्ने गरेका छन । वर्षभरी अन्त कतै नदेखिने यी अधिंकाश नागा बाबाहरु भारतबाट आउने गरेका छन । फागुन कृष्ण एकादशी अर्थात् विजया एकादशीका दिनदेखि नागा बाबा पशुपति मन्दिरभित्र छिर्न पाउँछन् । फागुन कृष्ण औँशीका दिनपछि मन्दिरभित्र नागा बाबा बस्न पाउँदैनन् भने नागा बाबा पशुपति मन्दिर छिर्नुअघि कपडा लगाएर छिर्नुपर्ने र निस्कँदा पनि कपडा लगाएरै बाहिरिनुपर्ने नियम रहेको छ । जसका कारण नागा वावाहरु भनिएजस्तै दिगम्बर रुपमै एकदमै न्युन संख्यामा देखिने गरेका छन ।

सन्यास परम्परा अनुसार दिगम्बर रुप धारण गर्नेको समूह नागा समुह हो । पशुपति पनि दिगम्बरस्वरुप भएको ज्योतिर्लिङ्ग हो, यसैले प्रत्येक वर्ष दिगम्बर रुप धारण गरेका नागाले दिगम्बरस्वरुप भएको पशुपति ज्योतिर्लिङ्गमा साक्षात्कार गर्ने प्रचलन रहे अनुसार महाशिवरात्रीको अवसरमा वर्षेनी भारतबाट यस्ता बाबाहरु पशुपती आउने गरेका छन ।

शिवरात्रीका अवसरमा भारतबाट नेपाल प्रवेश गर्ने नागा बाबालाई गुठी संस्थानले सीमाबाट नै सत्कारसहित पशुपति ल्याउने गरेको छ । २०६२ सालसम्म त संस्थानले यस्ता बाबालाई लगाउन बाघ, मृग आदि वन्यजन्तुको छाला बाँड्ने गरेको थियो । त्यस्तै शिवरात्रिका अवसरमा गाँजा, चरेशलगायत लागू पदार्थ पनि वितरण नै हुने गर्दथ्यो तर विसं २०५८ देखि संस्थानले बन्द गरेको हो । तर बाबाजीहरु भने अहिले पनि बाटो खर्च निकाल्न गाँजा बेचिरहेको दृश्य प्रत्येक महाशिवरात्रीमा पशुपतीमा दोहोरिने गरेको छ ।

हुन त नागा बाबाहरु सनातन धर्मावलम्बीका सुरक्षा दस्ता मानिन्छ भने उनीहरुमा कामुकता पनि नहुनाले समस्याका रुपमा हेर्न नमिल्ने केहि संस्कृतीविद्को तर्क छ । वास्तविकतामा हेर्ने हो भने पनि यस्ता वावाहरुको संख्या र अश्लिल क्रियाकलाप पनि पछिल्ला समय निरन्तर कम हुदै गएको देखिन्छ । फलत ः आफूहरुलाई आम समुदायले ईज्जत दिने गरेको उनीहरको समेत अनुभव छ । तर एक सर्को दुनियका अर्को भन्दै आउने युवाहरको क्रियाकलाप भने समस्या हुने गरेको उनीहरुको अनुभव छ ।

जतिसुकै आलोचना र वहसको विषय बने पनि महाशिवरात्रीमा पाशुपत पुग्दै गर्दा चर्चा गाँजा र वावा नै बनेका छन । धुनी तापेर आरामले बसिरहेको वावा र पृष्ठभूमीमा सुनिने जय सम्भो र हरहर महादेवको जस्ता मन्त्रहरुको ध्वनीले गुन्जायमान वातावरण नै महाशिवरात्रीको विम्ब बन्नेको गरेको छ । यद्यपी भिक्षाका नाममा जवरजस्ती टिका लाइदिने र आर्शिवाद दिने नाममा पैसा असुल्ने वावा रुपी ठगहरुको पनि विगविगी उत्तिकै रहन्छ ।