समाचार

पशुपतिमा यस्तो देखियो महाशिवरात्रिको रौनक, खुसी भए दर्शनार्थी र बाबाजी (भिडियोसहित)


काठमाडौँ — फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाआराधना गरी देशभर मनाइएको छ । पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो रह्यो भने सर्वसाधारण देखि उच्च पदस्थ व्यक्तिहरु समेत दर्शनका लागि शिवालयहरुमा पुगे । समग्रमा कस्तो रह्यो त पशुपात क्षेत्रमा महाशिवरात्रीको रौनक ?

पर्वहरुको राजा भनिने महाशिवरात्रि पर्वको अवसरमा देशभरका शिवालयहरुमा दिनभर नै भिडभाड रह्यो । शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास अनुसार पशुपती क्षेत्रमा विहानैबाट दर्शनार्थीको घुँईचो रहँने गरेको छ । उस्तै घुँईचो सागास्थित शिव मन्दिर , केदारनाथको शिरको रुपमा पुजिने भक्तपुरको डोलेश्वर लगायत देशभरकै शिवालयमा पनि रह्यो । पशुपतीमा भिडलाई मध्यनजर गर्दै दर्शन गर्न रुट मिलाइएको थियो ।

जसअनुसार मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट बाहिरीरूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको थियो । जसको परिणाम सहजताका साथ दर्शनार्थीहरुको भगवान पशुपतीनाथको दर्शन गर्न पाएका थिए ।

महाशिवरात्रीका अवसरमा राष्ट्रपती विद्यादेवी भण्डारी र गृहमन्त्री वालकृष्ण खाँणले समेत पशुपतीनाथको दर्शन गरेका छन भने देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतीनाथ मन्दिर पुगेका छन । दर्शनका लागि श्रीलंका तथा भारतको दक्षिणीभाग रामेश्वरम,हरिद्धार देखि अध्योध्या लगायतका स्थानबाट समेत साधुसन्त र वावाजीहरु आएका छन ।

उनीहरका लागि धुनी जगाउन गुठी संस्थानले पाशुपत क्षेत्रको निर्मल, भष्मेश्वर, राम मन्दिर, श्री गोरखनाथ (मृगस्थली), अन्नपूर्णलगायतका क्षेत्रमा ३३ हजार किलो दाउराको व्यवस्था गरेको छ । हंस मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा तीर्थ यात्रीका लागि निःशुल्क भोजनको व्यवस्था समेत गरिएको थियो । जसबाट दर्शनमा आएका साधुहरु खुसी देखिन्थे ।

यसबर्ष पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव र पार्वतीका चित्र पनि बनाइएको छ भने साजसज्जामा पनि विशेष ध्यान दिएको थियो । त्यस्तै सुरक्षा र व्यवस्थापनका लागि १० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो भने उत्तिकै मात्रामा स्काउट, रेडक्रस र विभिन्न संघसंस्थाका स्वयंमसेवक पनि परिचालित भएका थियो । त्यस्तै निशुल्क स्वास्थ शिविर र आईपर्न सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राखेर एम्बुलेन्स समेत तयारीमा अवस्थामा राखिएको थियो । फलत: दुई बर्षपछि मनाईएको यो महाशिवरात्री अन्य बर्ष भन्दा अझ सभ्य र भव्य भएको धेरैले महसुस गरेका छन ।