समाचार

धरानको होटलभित्र महिलाको शव, हत्याको आशंका


काठमाडौँ — सुनसरीको धरानमा रहेको एक होटलभित्र महिलाको शव फेला परेको छ ।

धरान उपमहानगरपालिका-१८ बुद्धचोकमा रहेको न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा अन्दाजी ३०/३५ वर्षीय महिलाको शव फेला परेको हो ।

प्रहरीका अनुसार महिला दुई दिनयता होटलमा बसेकी थिइन् । आज (मंगलबार) कोठा सफा गर्न पुगेका होटलका कर्मचारीले मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए । महिलासँगै होटलमा बसेका पुरुष भने फरार छन् ।

महिलाको शरीरमा चोट पटक रहेको र सँगै रहेका पुरुष फरार रहेका कारण प्रहरीले हत्या भएको हुनसक्ने बताएको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

महिलाको सनाखत भएको छैन । तर उनी बसेको कोठामा सुमित्रा तामाङ लेखिएको आइडी कार्ड फेला परेको छ । आइडी कार्डका आधारमा सनाखतका लागि प्रहरीले महिलाको आफन्तलाई बोलाएको छ ।

सुनसरीका प्रहरी उपरीक्षक सञ्जय थापाका अनुसार होटलका कर्मचारीले सोमबार दुवै जनालाई खाना पुर्‍याएका थिए । तर, मंगलबार बिहान सँगै बसेका पुरुष होटललाई जानकारी नै नदिइ फरार भएका थिए । महिलाको अनुहारमा पनि चोटपटक रहेका कारण घटना शंकास्पद रहेको उनले बताए ।