विदेश

रुसले प्रतिबन्धित बम प्रयोग गरेको युक्रेनको दाबी


काठमाडौँ — अमेरिकाको लागि युक्रेनकी राजदूतले सोमबार रुसले युक्रेनविरुद्ध प्रतिबन्धित बम प्रयोग गरेको आरोप लगाएकी छन् ।

अमेरिकी संसदमा बोल्दै युक्रेनकी राजदूत ओक्साना मार्कारोभाले रुसले थर्मोबेरिक हतियार प्रयोग गरेको बताएकी हुन् । उनले भनिन्, ‘रुसले आज भ्याकुम बमको प्रयोग गर्‍यो जुन जेनेभा सम्मेलनको प्रावधानअनुसार प्रतिबन्धित छ ।’ थर्मोबेरिक हतियारलाई सामान्यतया भ्याकुम हतियार पनि भनिन्छ ।

यद्यपि यो दाबी स्वतन्त्र पुष्टि हुन भने सकेको छैन। थर्मोबेरिक हतियारमा पारम्परिक गोला–बारुदको प्रयोग गरिएको हुँदैन । यो उच्च–चापसहितको विष्फोटक पदार्थले भरिएको हुन्छ । यस्तो बम शक्तिशाली हुनुका साथै यसले आसपासको आक्सिजन पनि सोस्छ ।

ह्युमन राइट्स वाचका अनुसार रुसी गणरज्य चेचन्यामा यसअघि नै यस किसिमको हतियारको प्रयोग भइसकेको छ । यसअघि शनिबार सीएनएनले रुसको सहर बेलगोरोडनजिकै थर्मोबेरिक रकेट प्रक्षेपण गरिएको उल्लेख गरेको थियो ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिभिजनमा आफ्नो एक सम्बोधनको क्रममा रुसले आक्रमण सुरु गरेपछिको ५ दिनमा अहिलेसम्म ५६ रकेट र ११३ क्रुज मिसाइल प्रहार गरिसकेको उल्लेख गरेका छन् ।

साथै उनले युद्धमा सामेल हुन चाहने विदेशीको लागि विना कुनै भिसा युक्रेन आउन दिने घोषणा गरेका छन् । उनले सोमबार दिउँसो खारकिभमा रुस युद्ध अपराधमा पनि सामेल भएको आरोप लगाएका छन् ।