समाचार

सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा आज साँझसम्म कर्फ्यू


काठमाडौँ — अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ ।

एमसिसी सम्झौता अनुमोदनविरुद्ध आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सोमबारराति सवा ८ बजेदेखि मङ्गलबार साँझ ७ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको छ ।

सुर्खेतस्थित पार्टी कार्यालयहरु, प्रहरी बिटमा तोडफोड र आगजनीको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले निषेधाज्ञा आदेश जारी गरेका हुन् ।

निषेधाज्ञा आदेश पूर्वमा वीरेन्द्रनगरको सुब्बाकुना, पश्चिममा बाङ्गेसिमल, दक्षिणमा काँक्रेबिहार जङ्गल र उत्तरमा कपासेसम्म भेला, जुलुस गर्न नपाइने र आदेश विपरीत गतिविधि गरेको पाइएमा स्थानीय प्रशासन ऐनबमोजिम कानुनी कारबाही हुने उल्लेख छ ।

प्रजिअ रिजालले बन्दकर्ता उग्र बनेका र थप क्षति हुन नदिन निषेधाज्ञा आदेश जारी गरिएको बताए । आन्दोलनमा उत्रिएका बन्दकर्ताले साँझ सुर्खेत हटियालाइनस्थित नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा ९माओवादी केन्द्र० को कार्यालय तोडफोड गरेका थिए ।

ढुङ्गामुढाबाट कांगे्रस कार्यालयका सिसा फुटेका छन् भने एमाले कार्यालय रहेको भवनमा व्यवसायीका सटर तोडफोड गरिएका छन् । पार्टी कार्यालयहरुमा आगजनी गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरी भीड तितर बितर पारेको थियो । आन्दोलनकारी र प्रहरीबीच सोमबार दिनभर वीरेन्द्रनगरका विभिन्न स्थानमा दोहोरो झडप भएको थियो ।