राजनीति

प्रचण्ड–माधवको लाज छोप्ने उपाय: व्याख्यात्मक घोषणा,कसले के भने संसद्मा ?


काठमाडौँ – लामो समय देखि गिजोलिएको अमेरिकी सहयोग परियोजना एमसीसीले अब भने निकासको बाटोमा अघि बढेको छ । व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गराउने विषयमा सत्ताघटक माओवादी केन्द्र र एकीकृत समाजवादीले सहमति जनाएपछि एमसीसी छलफलका लागि संसदमा लगिएको हो । के के भयो त आजको संसदमा ? सत्ता गठबन्ध नै फुटाएर भएपनि एमसीसी अनुमोदन गराउने तयारीमा लागेका प्रधानमन्त्री शेरबहादुर देउवाका सामु अन्नत सत्ता घटक दलहरु हार खाएका छन् ।

प्रतिपक्षी दल एमालेसंग मिलेर भएपनि अघि बढ्ने आशय देखाएर माओवादी केन्द्र र एकीकृत समाजवादीलाई देउवाले गलाएपछि अन्ततः एमसीसी अनुमोदनको बाटोमा अघि बढेको हो । व्याख्यात्मक घोषणा सहित एमसीसी अनुमोदनमा सघाउने फेस सेभिङको बाटोमा माओवादी केन्द्र र एकीकृत समाजवादी अघि बढेपछि संसदमा छलफलमा अघि बढेको हो । अझ गज्जब त के देखियो भने यसअघि एमसीसीलाई लिएर संसद छलेर घुम्न हिडेका अर्थमन्त्री जनार्दन शर्मा आजको संसदमा उपस्थित बने ।

शर्माले छलफलका लागि संसदमा पेस गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सैद्धान्तिक छलफल सुरू गराए । बोल्न चाहाने प्रत्येक सांसदलाई पाँच मिनेट दिइएको थियो । छलफलमा वोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसीमा संसदले गर्ने व्याख्यात्मक घोषणालाई मिलेनियम च्यालेन्ज कर्पोरेसनले स्वीकार गर्छ कि गर्दैन भन्ने प्रश्न गरे । यदि एमसीसीलाई स्वीकार्य भए घोषणा सकारात्मक हुने उनको भनाई छ ।

यता नेकपा एकीकृत समाजवादीका ’सम्मानित’ नेता झलनाथ खनालले पनि व्याख्यात्मक घोषणा कार्यान्वयनको ग्यारेण्टी माग गरे । सम्झौतामा अमेरिकाले चाहेको अवस्थामा जुनसुकै समयमा संशोधन हुन सक्ने उल्लेख भएको र त्यसअनुसार संशोधन गराउनुपर्ने खनालले बताए । ‘यथास्थितिमा नो एमसीसी भनेका उनले छलफल गर्नका लागि संसदमा छलफलको वातावरण बनाइनुपर्ने समेत बताएका थिए ।

त्यस्तै एमालेको अवरोधकै वीच पनि छलफलमा भाग लिएका नेता डा. भीम रावलले एमसीसी संसदमा पेश गर्नु राष्ट्रप्रतिको अपमान र जनताप्रतिको धोका भएको बताए । राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय होहल्लाका बीच संसदमा पेश गर्नु देशप्रतिको गद्दारी भएको बताएका उनले एमसीसीका पक्षधरहरु राष्ट्रिय गद्धार रहेको समेत आरोप लगाए ।

तर जनता समाजवादी पार्टी संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले भने सम्झौताको स्वागत गरे । नेपालको गरिबी निवारण र सर्वसाधारणको जीवनस्तरमा सुधार गर्ने उद्देश्यले एमसीसी आएको बताँउदै उनले एमसीसीमार्फत अमेरिकाले केही पनि नलादेको ठाकुरको भनाई थियो ।

डा.भट्टराईले एमसीसीलाई अनावश्यक रुपमा गिजोलिएको बताए । गाउँघरमा पनि साहुसँग ऋण लिँदा तमसुकको भाषाले घोच्ने भन्दै भट्टराईले एमसीसी सम्झौतामा पनि केही घोच्ने भाषा रहेको स्वीकार गरे । अहिले एमसीसीको विरोधमा रहेका पूर्वप्रधानमन्त्रीका पालामा कुनै न कुनै रुपमा एमसीसी स्वीकार गरिएको भन्दै नेता भट्टराईले अहिले विरोध गर्नुको मात्र अर्थ नहुने बताए ।

कांगे्रेस महामन्त्री गगन थापाले भने एमसीसीलाई राष्ट्रघाती भनिरहदाँ आफ्नो विगत सम्झिन नेताहरुलाई आग्रह गरे । कोहि पनि सम्झौताका प्रक्रियाबाट अछुतो नरहेको बताँउदै उनले अन्य अनुदान सहयोग सम्झौता पनि हेर्न आग्रह गरे । निकै आक्रमक रुपमा प्रस्तुत भएका थापाले व्याख्यात्मक घोषणाको अर्थ बुझ्न समेत आग्रह गरे ।

व्याख्यात्मक घोषणालाई भ्रमको संङ्या दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वैदेशिक सम्बन्धलाई राजनीतिक दलहरुले सत्ता चढ्ने सिँढी र सत्तामा बसिराख्ने लिसो बनाएको टिप्पणी गरे । त्यस्तै सांसद हृद्येश त्रिपाठीले भने एमसीसीको स्वागत गरे । छलफलमा उठेका प्रश्नको जवाफ अर्थमन्त्री शर्माले दिएका छन् ।

समग्रमा एमसीसीको विरोधमा रहेका सत्ताघटक दुई दलका सांसदहरुले भने अधिंकाश प्रश्न व्याख्यात्मक घोषणासंग सम्बन्धित रहेर उठाए भने सत्ता बाहिर रहेका हरुले उनीहरको चरित्रमाथि नै प्रश्न उठाए । यद्यपी छलफलमा अघि बढेको एमसीसी अव अनुमोदन हुन पाटोमा अघि बढेको छ भने दोहोरो चरित्र देखाईरहेका दलहरुले चिसै पानीले नुहाएको पक्का भएको छ ।