राजनीति

दलहरुको स्वार्थ केन्द्रित राजनीतिले सदन निरन्तर चेपुवामा


काठमाडौँ – एमसीसी सदनमा टेबल भएसँगै सत्तापक्ष र प्रतिपक्ष राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् । तर भेटवार्ताले निकास निकाल्ने भन्दापनि दलहरुबीचको दुरी बढाउँदै लगेको छ । संसद्मा टेबल भएको एमसीसी जसरी पनि पास गर्ने रणनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवा छन् । जसका लागि पटक—पटक संसद् नै स्थगित गर्दै बहमुत जुटाउनकै लागि देउवाले प्रतिपक्षलाई समेत फकाउन लागेपछि यतिबेला सत्ता गठबन्धनमा पुनः संसय पैदा भएको छ ।

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौंता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराए । उनले नेकपा एमालेले एमसीसीमा आफ्नो पार्टीको सहयोग चाहिए सभामुख अग्निप्रसाद सापकोटा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई बर्खास्त गर्नुपर्ने शर्त राखेकोमा दुःख समेत व्यक्त गरे ।

प्रधानमन्त्री देउवालाई हतारमा निर्णय नलिन र एमसीसीका केही प्रावधानहरु नसच्याएसम्म आफूहरु विपक्षमा रहने नेकपा एकिकृत समाजवादीको अडान कायमै रहेको छ । त्यस्तै सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जाने चेतावनी दिए । उनले नेकपा एमालेसँग सहमति गरेर एमसीसी पास गरेपछि मुलुकमा शान्ति कायम हुन्छ भन्ने सपना देख्नु काँग्रेसको दिवा सपना मात्र भएको जिकिर गरे ।

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धनले नेपाल र अमेरिकाबीच एमसीसीको कुरालाई गिजोलेर भूराजनीतिक विषय जटिल बनाएको भन्दै देशले यसको गम्भीर मूल्य चुकाउनु पर्ने बताए । सभामुख र एमालेले कारबाही गरेका १४ जना सांसदहरुलाई कारबाही गरेर अघि बढ्ने कुरामा नेपाली काँग्रेस सकारात्मक रहेको उनले बताए । उनले संसद् अवरोध पार्टीको बाध्यता भएको र आफ्नो पार्टी दलीय स्वार्थका लागि नभइ दलीय व्यवस्था प्रणालीको लागि लडिरहेको दाबी गरे ।

यता सत्तासीन प्रमुख दल नेपाली काँग्रेसका सांसद डा.शशांक कोइरालाले एमसीसी संसद्बाट पास भएपछि सरकार रहने÷नरहने कुरामा आशंका व्यक्त गरेका छन् । उनले एमसीसी संसद्बाट नै पास हुने दाबी गर्दै त्यसपछि नेकपा एमालेसँग गठबन्धन सरकार बन्न सक्ने बताए ।

एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफलको कार्यसूची रहेको प्रतिनिधिसभाको बैठक राजनीतिक दलहरुको स्वार्थ सिद्धिले पटक—पटक स्थगित हुँदै आएको छ । दलहरुले स्वार्थसिद्धिले संसद् अनिर्णयको बन्दि बन्न पुगेको छ ।