राजनीति

कांग्रेस र एमालेका साझा स्वार्थ, देउवा–ओली निकटताले प्रचण्ड–माधवमा हलचल


काठमाडौँ – एमसीसीका कारण गठबन्धनमा संकट आउने आंकलनकाबीच अव भने वारपारको अवस्था सिर्जना भएको छ । जसरी पनि एसमीसी पार गराउन अघि बढेका प्रधानमन्त्री देउवा र त्यसको विपक्षमा सत्ता घटक अन्य दल देखिएसँगै नयाँ समीकरणको लागि दलहरु तम्तयार बनेका छन् । सत्ता गठबन्धनबाट एमसीसी पास हुन नसक्ने देखेर दौडधुप बढाएका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षी एमालेसंग मिलेर जाने तयारी थालेका छन् ।

देउवाले एमसीसी सैद्धान्तिक छलफलपछि स्वीकृतिका लागि संसद्मा निर्णयार्थ पेस नहुने सुनिश्चितता खोजेका छन् । तर माओवादी केन्द्रले सैद्धान्तिक छलफलमै मत विभाजन माग्ने तयारी गरेको थाहा पाएपछि उनी झस्किएका हुन् । यहि कारण देउवाकै आग्रहमा बिहीबारको संसद् स्थगीत भएको थियो भने ओली निर्णायक छलफल अघि बढाएका थिए । तीन चोटिसम्म ओलीसंगको वार्तामा देउवा ओलीको माग पुरा गर्न सकारात्मक देखिएका छन् । तर निर्णायक वार्ता नभएका कारण आजको संसद् पनि स्थगित भएको छ ।

गठबन्धनमा आबद्ध भएर पनि माओवादी र एकीकृत समाजवादीले सरकारलाई सहयोग नगरेकाले प्रतिनिधिसभा बैठकबाट एमसीसी अनुमोदन गर्नेबारे एमालेसँग सहमति नजिक पुगेको काग्रेस नेताहरुले बताएका छन् । यो परिस्थतिले एकीकृत समाजवादी र माओवादी केन्द्रमा पनि हलचल आएको छ । दुई धुव्रको नेतृत्व गरिरहेकाहरु एक हुन नसक्ने आकंलनका बीच देउवा–ओली निर्णायक रुपमा अघि बढेपछि एकीकृत समाजवादी अझ ससक्त रुपमा सडकमा उत्रिएको छ ।

यद्यपि एमसीसीको विपक्षीमा रहेको सत्ता घटक दलहरुले अझै पनि परिमार्जन सहित पारित गर्नका लागि पहल गर्ने र गठबन्धन पनि नतोडिने मध्यमार्गी बाटो खोज्ने प्रयास जारी राखेका छन् । यहि कारण कतै आफू एमसीसीको लागि मात्र प्रयोग हुने त हैन भन्ने डर ओलीमा छ । त्यस्तै कतै एमसीसीकै विषयमा आफूसंग जोडिन आउने ओलीले सत्ता गठबन्धन फुटेपछि आफू प्रधानमन्त्री बन्ने बाटोमा अघि बढ्ने त हैनन् भन्ने डर देउवमा पनि छ ।

एमसीसीका लागि प्रधानमन्त्री पद नै साट्ने सोच उनमा नरहेकाले राष्ट्रपतिबाट नयाँ सरकार गठनको आव्हान नहुने सुनिश्चितता देउवा खोजिरहेका छन् । तर एमसीसी विरोधीहरुको धुव्रीकरण हुने र एमालेमा रहेका दश भाईलाई फर्काउन सकिने आशाले यथावत् रहेकाले एकीकृत समाजवादी पनि पछि नहट्ने देखिएको छ । जसले सत्तागठबन्धनको फुट अझ नजिक बनाएको छ ।

यदि देउवाले ओलीको माग अनुसार १४ सांसद्लाई कारबाही गर्ने निश्चित भए चाँहि उसलाई अझ दवाव पर्ने देखिन्छ । आफूहरु ताजा जनादेश र सत्ता गठबन्धन फुट्नुपर्ने पक्षमा रहँदै आएको बताउने एमालेले माग पुरा भए एमसीसीमा साथ दिने यसअघिबाटै बताँउदै आएको छ । जसमा आफू सकारात्मक रहेकोे देउवाले बताईसकेका कारण देउवा–ओली मिलन पक्का भएको हो ।

यता निर्णायक कदम चाल्न देउवाले गरिरहेको ढिलाईले भने भरसक सत्ता घटक दलहरुलाई नै साथ लिएर हिड्ने रणनीति त हैन भन्ने विश्लेषण पनि छ । त्यसैका लागि संसद् सार्दै आफूलाई गलाउने प्रयास गरेको वुझाई प्रचण्ड–माधवमा छ । तर तोकिएको मिति नजिकिँदै गर्दा देउवा अव वारपारको अवस्थामा छन् । जसले सत्तागठन्धन मात्र फुट्ने हैन एकीकृत समाजवादीमै एमसीसीका पक्षमा खुलेका दुईमन्त्री र चार सांसद समेतको टोली चोईटिने खतरा समेत बढेको छ ।