राजनीति

एमसीसीका कारण देखियो विदेशी शक्तीको नाङ्गो हस्तक्षेप,शक्ति राष्ट्रको खेलमैदान बन्दै नेपाल


पछिल्लो समय देशको वाह्य शक्तिको नाङ्गो हस्तक्षेप बढ्दै गएको छ । स्वतन्त्ररुपमा निर्णय लिने भन्दा शक्ति राष्ट्रहरुको प्रतिक्रियाका आधारमा दलका नेताहरुको धारणा तय हुँदा नेताहरुमा राष्ट्रियता कमजोर देखिएको हो । एमसीसी सम्झौता प्रकरणले यसलाई थप पुष्टि गरेको छ ।

एमसीसी सम्झौता पास गर्ने भनेर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेको कवुलियतनामाको मिति नजिकिदै जाँदा राजदूत र्यान्डी वेरीले सक्रियता बढाए ।

उनले शिर्षस्थ नेताहरुलाई भेट्ने देखि एमसीसी पास नभए अन्य सहयोगमा समेत असर पार्ने चेतावनी समेत दिए । यहिबीचमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालसँगको छुट्टाछुट्टै टेलिफोन वार्तामा एमसीसी संसदबाट असफल भएमा नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्ने बताए ।

यसले नेपाल चीनतर्फ ढल्किएको प्रष्ट पार्ने समेत उनले भन्न भ्याए। जुन सन् १९४७ मा नेपाल र संयुक्त राज्य अमेरिकाबीच द्विपक्षीय सम्बन्ध स्थापना भएपछि अमेरिकाले नेपाली राजनीतिक नेतृत्वलाई यस्तो कडा शब्दमा चेतावनी दिएको सम्भवतः यो पहिलो पटक हो । जसलाई अन्तराष्ट्रिय माममिलाका जानकारहरु तथा माओवादी नेताहरुले समेत अमेरिकाको ज्यादतीका रुपमा अथ्र्याउदै आएका छन ।

आफैले सम्झौता गर्ने आफैले पास गर्ने मिति तोक्ने र आफैले एमसीसी गिजोल्ने नेताहरुको प्रवृत्तीबीच यसलाई स्वभाविक चासोका रुपमा हेर्नुपर्छ भन्नेहरु समेत देखिए । तर गज्जब त के भयो भने अमेरिकाको दवावको उत्तर चीनले दियो । अमेरिका–नेपालवीचको मामलमा सम्बन्ध नै नभएको चीनले अघि बढ्दै अमेरिकाले नेपालमा ‘जबर्जस्तीपूर्ण कूटनीति’ गरेको भन्दै त्यसको प्रतिरोध गर्ने चेतावनी दियो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ् अन पिनले चेतावनी दिएको एक हप्ता पनि नवित्दै सोहि मन्त्रालयको अर्की प्रवक्ता हुवा छुनयिङले पनि अमेरिकाविरुद्ध जवाफी फायर खोलिन । अमेरिकासँग प्रश्न गर्दै नेपालमाथि एमसीसी पास नगर्न दबाब दिएकी उनले अल्टिमेटमको प्याकेजलाई अमेरिकाले कहिलेदेखि उपहार मान्न थाल्यो भनेर प्रश्न समेत गरिन । अर्थात यो नेपालको आन्तरिक विषयमा दुई देशको यो जुहारीमा अहिले अमेरिकाले ज्यादती गर्यो भन्नेहरु चुपचाप छन भने कांग्रेसका नेताहरुले भने अनावश्यक सक्रियता मानेका छन ।

यी दुई घटनाक्रमले देशभित्र शक्ती राष्ट्रको नाङ्गो हस्तक्षेपलाई उजागर गरिरहदाँ नेताहरुमा रहेको विदेशी हस्तक्षेपको बुझाईलाई समेत प्रष्ट पारेको छ । देशको हितलाई हेरेर अघि बढ्नु भन्दा नेताहरु शक्ती राष्ट्रको ईशारामा चल्ने गरेको आरोपमा समेत यसले थप पुष्टाई गरेको छ । जुन स्वच्छ र देशको हितको आधारमा सम्बन्ध राख्ने भन्दा राजनीतिक स्वार्थमा प्रयोग गर्ने प्रवृत्तीको उपज भएको कुटनितिका जानकारहरु बताउछन ।

भारत विरुद्धको नाराले सत्तामा पुग्नेहरुले अहिले राजनीतिक स्वार्थकै कारण अमेरिकी विरोधी भावना समेत वृद्धि गराईरहेका छन । कहिकतै कुनै न कुनै रुपमा एमसीसी सम्झौतामा सबै दलहरु संलग्न भएपनि अहिले देखाईरहेको दोधारे चरित्रले यसलाई अझ बढावा दिएको छ भने अन्तराष्ट्रिय जगतमा नेपालको कुटनितिक हैषियत समेत धुमिल बनिरहेको छ । तर नेतृत्वकर्ताहरु भने अझै पनि चेत्ने अवस्थामा देखिएका छैनन् ।