राजनीति

सत्तामै बसेर हिंसात्मक आन्दोलन नगर्न गृहमन्त्रीको चेतावनी


काठमाडौँ — एमसीसीको विरोधमा सत्तामा भएकै दलले हिंसात्मक आन्दोलन गरेपछि गृहमन्त्री बालकृष्ण खाँणले टेलिफोन गरेर हिंसात्मक आन्दोलन नगर्न आग्रह गरेका छन् ।

बिहीबार बिहान टेलिफोन गरेर नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका विद्यार्थी र युवा संगठनका नेतृत्वलाई टेलिफोन गरेर हिंसात्मक आन्दोलन नगर्न भनेको गृह मन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीले जानकारी दिए ।

‘तपाईँहरूलाई शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार छ । तर सरकारमा बसेर सरकारकै मान्छेहरुले आन्दोलन गरेर हिंसात्मक बन्दाखेरि हामीलाई पनि गाह्रो हुन्छ’, गृहमन्त्री खाँणले भने, ‘तपाईँहरूको नेतृत्वको निर्देशन के छ मलाई थाहा छैन । तर आफैँ आक्रोशित भएर जाने, प्रहरीलाई ढुंगामुढा गरेर आन्दोलन हिंसात्मक भयो भने जवाफदेही को हुन्छ ? सरकार त तपाईँहरूको पनि हो । साझा सरकारको उत्तरदायित्व भित्र शान्ति सुरक्षा कायम गर्नु पनि हो । त्यसमा तपाइँहरुको पनि भूमिका हुन्छ ।’

उनले आफूहरुले आन्दोलन नै नगर्नु नभन्ने बताउँदै तर सरकारलाई असर गरेमा चुप नबस्ने बताएका छन् । ‘आन्दोलन नगर्नुहोस् भनेर हामी भन्दैनौँ तर कसरी गर्ने हो त्यो तपाईहरुले जान्नु पर्ने कुरा होु, उनले भनेका छन्, ‘त्यस्तो आन्दोलनले संयुक्त सरकारलाई असर गर्छ भन्ने कुरा तपाईँहरुले ख्याल गर्नुपर्छ। शान्तिपूर्ण आन्दोलन गर्नुभए प्रहरीले नै सुरक्षा दिन्छ ।’

यसअघि आइतवार भएको आन्दोलनमा माओवादी र समाजवादीका कार्यकर्ताहरु प्रहरीमाथि हिंसात्मक रुपमा जाइ लागेका थिए । त्यसक्रममा दर्जनौँ नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान घाइते भएका थिए।