राजनीति

अमेरिकी थ्रेटमा ओली–देउवा, ‘बालकोट टू खुमलटार, एमसीसीमा वार–पार’


काठमाडौँ – अमेरिकी सहयोग परियोजना एमसीसी आइतबार संसद्मा पेस गरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अनुमोदनको लागि मत जुटाउन सक्रिय छन । सत्तापक्षकै दलले मत हाल्ने निश्चित नभएकाले प्रधानमन्त्रीको दौडधुप अझै जारी छ । दबाबै दबाबकाबीच देउवा गठबन्धन कि प्रतिपक्ष भन्ने तहमा पुगेका छन् । माने गठबन्धन नमाने प्रतिपक्ष,प्रधानमन्त्री शेरबहादुर देउवाका लागि अहिलेको यो मन्त्र नै बनेको छ ।

एमसीसी पारित गर्न गठबन्धनभित्रै कित्ताकाट भएपछि प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षसँग निर्णायक संवादमा छन् । यसका लागि आफैँ कुद्नेदेखि आफु निकटस्थलाई कुदाएर एमसीसी पास गर्ने बाटो खोजिरहेका छन् । बुधबार बिहानै प्रधानमन्त्री देउवाको सन्देश बोकेर गृहमन्त्री बालकृष्ण खाण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटार पुगेँ ।

करिब पौने घण्टाको छलफलपछि खाण खुमलटारबाट सिधैँ बालकोट हानिए । प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि करिब ४५ मिनेट छलफल गरेका उनी दुवै नेताको खबर बोकेर फेरि देउवा कहाँ नै फर्किए । एमसीसी टेबल भएर बिहीबार संसद्मा निर्णायक छलफल हुँदैछ ।

कुनै पनि हालतमा पास गर्नपर्ने अतृप्त चाहना पालेका देउवाले यसअघि नै मंगलबार बेलुका ओलीसँग बालुवाटारमै छलफल गरेका थिए । झण्डै एकसाताको अवधिमा उनीहरुबीच दुईपटक ‘वान टु वान वार्ता’ भएको छ । तर गठबन्धन भत्काएमात्रै सहमति हुने ओलीको प्रस्तावमा देउवा अझै ढुकचुक छन् । जसले गठबन्धन चिढ्डीएको छ ।

चौतर्फी दबाबमा परेपछि प्रधानमन्त्री देउवा यहीँ साता एमसीसी वार कि पार बनाउने पक्षमा छन् । गठबन्धनको कित्ताकाट र विदेशीको दबाबले पेलानमा परेपछि आफ्ना सारथीहरुलाई समेत खटाएर प्रचण्ड मिलाउने कि ओली फकाउने गरि कुदाइरहेका छन् । खाणदेखि रामचन्द्र पौडेलसम्म देउवाका लागि दौडधुपमा छन् ।

मुलतः प्रचण्ड–माधवसँग अन्तरविरोध चुलिएपछि देउवाको ध्यान ओलीतिर छ । ओलीतिर विदेशीको पनि ध्यान छ । अमेरिकी राजदूत ¥याण्डी बेरीले १० दिनको अवधिमा मात्रैओलीसँग तीनपटक भेटघाट गरे । मंगलबार मात्रै ¥याण्डी बेरीसँग भएको भेटपछि ओली शंकास्पद तरिकाले देउवा भेट्न बालुवाटार पुगेका हुन् । युरोपेली मुलुकसँग पछिल्लोसमय नेताहरुको उठबसले थप संकट निम्त्याउने काम गरेको विज्ञहरु बताउँछन् ।

विदेशीको चलखेल र दलहरुको अलमलकैबीच बिहीबार संसद्मा एमसीसीबारे छलफल हुँदैछ । एमसीसी संसद्मा प्रवेश गरिसकेपछि अब यसलाई सैन्दान्तिक छलफलमा लैजाने वा समितिहरुमा पठाउने त्यतिमात्रै नभएर संसदीय समिति नै बनाएर टुंगो लगाउने अझै एकिन छैन । यी सबै प्रक्रियाका लागि पनि देउवालाईप्रचण्ड वा ओलीको साथ अपरिहार्य देखिन्छ ।

संसद्मा एमसीसी जति प्रक्रियागत रुपमा लम्बिन्छ सडक र विरोधीको आवाज उति नै बलियो हुने र अमेरिकी समयसीमा पनि फागुन १६ सम्मको मात्रै भएकाले देउवा दबाबमा परेका छन् । यसैकारण धेरै लामो प्रक्रियामा नफसी ओली वा प्रचण्डको बैशाखी टेकेर भएपनि ‘फास्ट ट्रयाक’मार्फत पास गर्ने देउवाको चाहना छ ।

पछिल्लो समय पश्चिमाहरुको चेपुवामा देउवाभन्दा बढी ओली पर्न थालेका छन् । उनलाई यो हप्तामात्रै कुटनीतिक नियोगका प्रतिनिधिहरुले तारन्तार भेटेर दबाब दिइरहेका छन् । अन्ततः गिजोलियोको एमसीसी, राजनीतिमा देखिएको धुव्रीकरण, विदेशीको आन्तरिक राजनीतिमा सक्रियता र आन्तरिक चेपुवामा रहेका दलहरुले अब सदन र सडकमा एमसीसी कसरी अगाडी बढाउँछन, त्यसले अबको राजनीतिक भविष्य निर्धारण गर्नेछ ।