राजनीति

पशुपति धर्मशाला सरकारको स्वामित्वमा ल्याउछौँ :मन्त्री आले


काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले बतास समुहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताउनुभएको छ ।

आज महाशिवरात्री पर्व २०७८ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले बतास समुहलाई हटाउने सरकारको निर्णयमा सो समुहले लिएर आएको अल्पकालीन आदेश समेत अदालतले खारेज गरिसकेकाले छिटोभन्दा छिटो धर्मशाला फिर्ता ल्याइने बताउनुभएको हो । विगतका प्रतिनिधिले धर्मशाला कौडीको भाउमा बेचेको भन्दै उहाँले अब त्यस्तो कदम सह्य नहुने बताउनुभयो । मन्त्री आलेले पशुपतिप्रति गिद्धे दृष्टि लगाउनेहरुको कहिल्यै कल्याण नहुने बताउनुभयो ।

पशुपति क्षेत्र विकास कोषको अध्यक्ष समेत रहनुभएका मन्त्री आलेले यस वर्षको महाशिवरात्री पर्व विगतका वर्षहरुभन्दा भव्य र सभ्य रुपमा मनाउने तयारी भइरहेको जानकारी दिनुभयो । महाशिवरात्री पर्वलाई भव्य र सभ्य बनाउन कुनैपनि कसर बाँकी नराख्न उहाँले निर्देशन समेत दिनुभयो ।।