समाचार

धरानमा झोलामा भेटिएको शव झापाका दिनेश सिग्देलको, २ जना पक्राउ


काठमाडौँ — सुनसरीको धरान-४ मा विभत्स हत्या गरिएको अवस्थामा फेला परेको शवको सनाखत भएको छ ।

एक साताअघि सुनसरीको धरानमा भेटिएको शवको झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय दिनेश सिग्देल रहेको खुलेको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार सिग्देल वैदेशिक रोजगारीका लागि बहराइन पुगेर फर्किएका थिए । परिवारकै सदस्यको संलग्नतामा उनको हत्या भएको पाइएको प्रहरीले बताएको छ ।

उनको हत्यामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको भए पनि सार्वजनिक गरेको छैन । दिनेशको हत्या भएको मिति खुलेको छैन । हत्यापछि दिनेशको शरीरलाई टुक्राटुक्रा बनाएर जेब्रा झोलाभित्र धरान उपमहानगरपालिका–४ स्थित धरान–भेडेटार सडक खण्डको जंगलमा फ्यालिएको अवस्थामा स्थानीयले भेटेका थिए ।

घाँटीभन्दामाथि टाउकाको भाग र तिघ्रामुनिको दाहिने खुट्टा प्याक गरेर फ्यालिएको एउटा झोला गत बुधबार भेटिएको थियो । बिहीबार करिब १ किलोमिटरमाथि जिउ र अन्य अंगहरु प्याक गरिएको अर्को झोला भेटिएको थियो ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र मोरङ तथा संघीय प्रहरी इकाई कार्यालय धरान र प्रदेश १ प्रहरी कार्यालय विराटनगरको संयुक्त टोली खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दिनेशको पुरानो घर इलामको बाँझो रहेको र उनी केही समयअघि मात्रै परिवारसहित दमकमा बसाइँ सरेको प्रहरीले बताएको छ ।