देश

आन्दोलनकर्मी अराजक बन्दै, सार्वजनिक सम्पत्तिमाथिको आक्रमण गर्नेलाई हुन सक्छ यस्तो कारबाही (भिडियोसहित)


काठमाडौँ – नेपालमा साना–ठूला सबै परिवर्तन सडकबाट नै सम्भव भएका छन् । विगतमा व्यवस्था परिवर्तनका लागि भएका आन्दोलनमा मानविय क्षति समेत भए । संविधान जारी पछिका विरोधहरु केहि रचनात्मक र सिर्जनात्मक थियो । तर विगत केहि दिन यता भएका आन्दोलनहरु थप अराजकपूर्ण बनेका छन् ।

आइतबार सदनमा एमसीसी टेबुल भइरहेको थियो । यता संसद भवन बाहिर नयाँ बानेश्वरको अवस्था प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपले कहाली लाग्दो बनेको थियो । सुरक्षाकर्मीले प्रदर्शनकारीमाथी लाठिचार्ज, पानीको फोहोरा, अश्रु ग्याँस, रबरका गोली सबै प्रयोग गरे । यता प्रदर्शनकारी पनि के कम, उनीहरु पनि रुख भाँच्ने, सडकमा विछइएका टायल नै भत्काएर सुरक्षाकर्मीमाथी जाईलाग्न थाले । एमसीसी टेबुल हुनुमा यो सडकपेटि र रुखविरुवाको के दोष ? नागरिकबाटै उठेको कराडौ कर खर्चेर बनेको सार्वजनिक संरचनामाथी प्रर्दशनकारीको यो रवैया साँच्चिकै निन्दनीय थियो ।

हुनत विरोधका नाममा सार्वजनिक सम्पत्तिमाथी हुने आक्रमण नयाँ होइन, राजनीतिक दल र तीनका भातृ संगठनहरुले गर्ने विरोध प्रदर्शनमा सार्वजनिक संरचनामा क्षति पुर्याउनुलाई आफ्नो शक्तिसँग दाज्ने गर्दछन् । स्थानीय प्रशासन ऐन २०२८ र सार्वजनिक सुरक्षा ऐन २०४६ अनुसार सार्वजनिक सम्पत्तिको तोडफोड गर्नेलाई प्रमुख जिल्ला अधिकारीको आदेशमा पक्राउ पूर्जि विना नै पक्राउ गरी नजरबन्दमा राख्ने देखि हिंसात्मक कार्य गर्ने व्यतिmलाई देख्न वित्तिकै गोली प्रहार गर्नेसम्मको कानुनी अधिकार दिएको छ । तर विडम्बना कानुन कागजमा मात्र सिमित छ । राजनीतिक दलको हस्तक्षेपका कारण आन्दोलनका नाममा अपराध गर्नेहरुले पनि सहजै उन्मुक्ति पाउने गरेका छन् ।

संघिय राजधानी काठमाडौमा पछिल्लो समय विरोध कार्यक्रमहरुको लहर नै चलेको छ । कतै एमसीसी त कतै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध । संविधान जारी पछि रचनात्मक र सिर्जनात्मक विरोध हुने गरेको सडक आन्दोलन एमसीसीका कारण अराजक र उग्र बन्दै गएको छ ।