देश

नेपालको शिक्षा क्षेत्रमाथि निरन्तर आक्रमण, त्रिविको राजनीतिले प्राध्यापकलाई आत्मग्लानी (भिडियोसहित)


काठमाडौँ – नेपालको शिक्षा क्षेत्रमा निरन्तर आक्रमण भइरहेको शिक्षाविद्हरुले बताएका छन् । त्रिभुवन विश्वविद्यालयमा लामो समय देखि भइरहेको तालाबन्दी बारे विज्ञहरुहरुसँग भएको छलफलले देश बिगार्न शिक्षामाथि आक्रमण भइरहेको निष्कर्ष निकालिएको हो ।

नेपालको शिक्षा क्षेत्रमाथि निरन्तर भइरहेको आक्रमणप्रति शिक्षाविद्हरुले गुनासो गरेका छन् । त्रिभुवन विश्वविद्यालयमा भइरहेको तालाबन्दीलाई लिएर देशलाई बिगार्न शिक्षामाथि आक्रमण भइरहेको भन्दै असह्य प्रकट गरेका हुन् । छलफलमा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति तथा प्राध्यापक त्रिरत्न मानन्धरले त्रिभुवन विश्वविद्यालयको समस्या तालाबन्दीबाट नहुने बताए । उनले पछिल्लो समयमा विश्वविद्यालयमा भइरहेका घटनाक्रमका कारण आफू त्रिविको प्राध्यापक हुँ भन्न पनि आत्मग्लानी हुने गुनासो पोखे ।

ताला लगाएर कुनै पनि समस्या समाधान नहुने भन्दै पदाधिकारी र विद्यार्थीहरुले छलफल र संवादबाट नै समस्याको समाधान खोज्नुपर्ने छलफलमा आवाज उठेको थियो । प्राध्यापक राजकुमार पोखरेलले कतिपय बेलामा विद्यार्थीहरुले विषय एक तीर माग अर्को हुने गरेको पनि बताए । उनले विद्यालयहरु राजनीतिक पार्टीहरुको षड्यन्त्र गर्ने ठाएँ नभएको भन्दै राजनीतिक गुट र पार्टीहरुलाई शिक्षामा असर पार्न दिनबाट रोक्न सक्नुपर्ने बताए ।

त्यस्तै प्राध्यापक डम्बर चेम्जोङले नेपाली समाजमा विश्वविद्यालय र उच्च शिक्षाको बारेमा ऐतिहासिक र राजनीतिक बुझाइको अभाव रहेको बताए । उनले देश संघीयतामा गएको भनेपनि भागबण्डामा केन्द्रित हुँदा शिक्षामा समस्या थपिएको बताए । उनले हरेक प्रदेशमा सरकारले एक÷एक वटा विश्वविद्यालय खोल्नुपर्ने माग राखे ।

छलफलमा प्राध्यापक विनोद जोशीले प्राध्यापकहरु विद्यार्थीहरुसँग डराएर हिँड्नुपर्ने बेला आएको भन्दै नागरिक समाजको ध्यानाकर्षण गराए । त्रिवि आफैँमा समस्याको भण्डार भएकोले दीर्घकालीन रुपमा समस्या समाधान गरेर अघि बढ्नुपर्ने उनको भनाई रहेको छ ।

विद्यार्थीहरुको तालाबन्दी सरुवा, बढुवा र नियुक्तिसँग हुने गरेको भन्दै प्राध्यापकहरुले गुनासो गरेका छन् । विश्वविद्यालय र प्राध्यापकहरुले अपराधीहरुलाई अपराधीकै तरिकाबाट उपचार नगर्दा समस्या निम्तिएको उनीहरुले बताएका छन् । अन्य देशमा राष्ट्रिय मुद्दाहरुमा विश्वविद्यालयका प्राध्यापकहरुसँग सञ्चारमाध्यमहरुले छलफल गर्ने गरे पनि नेपालमा भने आजसम्म कुनै वहस हुन नसकेको र विश्वविद्यालयहरु पनि देशका मुद्दाहरुमा खुलेर यथार्थतालाई बाहिर ल्याउनेतिर लागि नपर्नु दुःखद भएको उनीहरुले बताएका छन् ।