समाचार

१२६ किलो लागुऔषधसहित दुई पक्राउ


काठमाडौँ – प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका वडा न–१ बाट माछा बोक्ने गाडीमा ल्याउँदै गरेको १२६ किलो लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गाडी चालक धदिङ जिल्ला सिदुलेख गाउँपालिका वडा न–६ बस्ने अन्दाजी वर्ष २२ को सुरेन्द्र बिक र मकवानपुर जिल्ला कैलाश गापा वडा न–२ बस्ने अन्दाजी वर्ष ४८ को भिमलाल मोक्तान रहेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीलाई रोकेर चेकजाँच गर्दा माछा बोक्न राखिएको ड्रमबाट सो मात्रामा गाँजा बरामद भएको छ ।

उनीहरूको साथबाट ८५ हजार रुपैयाँ नगद र २ थान मोबाइल फोनसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिनुभयो ।