समाचार

नयाँ शैक्षिक सत्र जेठ १ देखि


काठमाडौँ — सरकारले २०७९ को नयाँ शैक्षिक सत्र जेठ १ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । शिक्षामन्त्रीका प्रेस संयोजक विमल खड्काका अनुसार बैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने र जेठ १ गतेदेखि पढाइ सुरु गर्ने निर्णय भएको छ ।

कतिपय जिल्लामा कोरोनाभाइरस महामारीको जोखिम कायमै रहेको र सरकारले बैशाख ३० गते स्थानीय चुनाव घोषणा गरिसकेको अवस्थालाई मध्यनजर गर्दै जेठदेखि पढाइ सुरु गर्ने निर्णय मन्त्रालयले गरेको हो ।

कोरोनाको तेस्रो लहरले बन्द रहेका शैक्षिक संस्थामा फागुन १ गतेदेखि भौतिकरुपमा पठनपाठन सुरु भएको छ । सरकारले यसअघि वैशाखबाट नयाँ शैक्षिक सत्र थाल्ने योजना बनाएको थियो तर सरोकारवालाहरूले कोभिड(१९ का कारण समयमा कोर्स नसकिने भएकाले जेठबाट नयाँ शैक्षिक सत्र थाल्न सरकारलाई सुझाव दिँदै आएका थिए।