समाचार

बन्द र प्रदर्शनमा उत्रिएका १२० जना प्रहरीको नियन्त्रणमा, २ प्रहरी घाइते


काठमाडौँ — काठमाडौँमा बन्द र अमेरिकी सहयोगसम्बन्धी परियोजना (एमसीसी) को विरोधमा उत्रिएका १२० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको हो ।

प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि सामान्य बल प्रयोग गरिएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीको ढुंगा लागेर दुईजना प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीतर्फ समेत केही व्यक्ति घाइते भएका छन् ।

आज बिहानैदेखि नयाँ बानेश्वर, बिजुलीबजार, बबरमहल क्षेत्रमा एमसीसीविरुद्ध प्रदर्शन गरिएको छ । सत्तासाझेदार दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ता पनि प्रदर्शनमा उत्रिएका छन् ।

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत ६ दलले आज नेपाल बन्दको आह्वान गरेका हुन् ।