राजनीति

माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने, जबरजस्ती अघि बढाए गठबन्धन तोड्ने चेतावनी


काठमाडौँ – नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले यथास्थितिमा एमसीसी परियोजना अनुमोदन गर्न नसकिने निर्णय गरेको हो ।

सरकारले जबरजस्ती अघि बढाए विपक्षमा मतदान गर्ने र सत्तारुढ गठबन्धन तोडिने चेतावनी माओवादी केन्द्रले जनाएको छ । माओवादी प्रमुख सचेतक देव गुरुङ भन्छन्, ‘एमसीसीमा रहेका असमान शर्तहरु संशोधन नगरी यथास्थितिमा अगाडि बढाउन सकिंदैन । जबरजस्ती रुपमा ल्याए विपक्षमा मतदान गर्ने निर्णय भएको छ ।’

सरकारले आजको संसद् बैठकमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरिरहेका बेला माओवादी निर्णय आएको हो । राष्ट्रिय सहमति नजुटी एमसिसी अगाडि बढ्न नसक्ने उनले बताएका छन् । सदन सुचारु नगरी कुनै पनि एजेन्डा अगाडि बढ्न नसक्ने माओवादीले बताएको छ ।