खेलकुद

ए डिभिजन लिगमा आज तीन खेल हुँदै


काठमाडाैँ – शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै छन् । लिगको ११ औँ चरण अन्तर्गत दशरथ रंगशाला दुई र एन्फा कम्प्लेक्समा एक खेल हुने छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुने छ । मछिन्द्र आज सातदोबाटोलाई हराएर उपाधि उचाल्न चाहन्छ । मछिन्द्रलाई उपाधिका लागि ३ अंकको आवश्यकता रहेको छ । शीर्ष स्थानको मछिन्द्रले १० खेलमा २६ अंक जोडेको छ । सातदोबाटो १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

यस्तै रंगशालामा हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस १० अंक जोडेर दशौँ स्थानमा रहेको छ । थ्री स्टार १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । आर्मी १८ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ । हिमालयन १२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।