खेलकुद

रोनाल्डोको गोलको मद्दतमा युनाईटेड पुन: शीर्ष चारमा


काठमाडौँ– इंलिस प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेडले ब्राइटनलाई पराजित गर्दै शीर्ष चारमा उक्लिएको छ । गएराति घरेलु मैदानमा ब्राइटनलाई २–० गोलले पराजित गर्दै पुन शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।

पहिलो हाफ बराबरी खेलेकोे युनाईटेडलाई अग्रता लिनका लागि दोस्रो हाफसम्म कुर्नु पर्याे । ५१ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले ठिक डिबक्स बाहिरबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको थियो । त्यस्तै युनाईटेडको अग्रता दोब्बर बनाउने क्रममा ब्रुनो फर्नाडिजले थपिएको समयको अन्तिम मिनेटमा गोल गरेका थिए ।

ब्राइटनका खेलाडी लेविस डङ्कले रातो कार्ड खाएपछि १० खेलाडीमा सीमित भएको थियो । उनले खेलको ५४ औं मिनेटमा इलांगालाई फाउल गरेपछि मैदान छोड्न परेको थियो ।

जितसँगै युनाइटेड २५ खेलबाट ४३ अंकसहित अंकतालिकामा चौथो स्थान छ । ब्राइटन २४ खेलबाट ३३ अंकसहित नवौं स्थानमा छ । लिगमा म्यानचेस्टर सिटी ६३ अंकका साथ शीर्ष स्थानमा रहेको छ । त्यस्तै लिभरपुल ५४ अंकका साथ दोस्रो र चेल्सी ४७ अंकका साथ तेस्रो स्थानमा छ ।

पछिल्लो तीन खेलमा जितविहीन भएको युनाईटेडलाई यो जितले केही राहत मिलेको छ । प्रिमियर लिगको अंकतालिकामा यो जितको महत्व त छदैँ छ यसका साथै, च्याम्पियन लिगमा हुने आगामी खेलका लागि पनि यो जित अनिवार्य बनेको थियो । च्याम्पियन लिगमा युनाईटेडले स्पेनिस क्लब एट्लेटिको मड्रीडसँग खेल्ने तालिका रहेको छ ।