राजनीति

होहल्लाकै बीच एमसीसी पास गर्ने तयारी, काँग्रेसमा देखियो अभूतपूर्व एकता (भिडियोसहित)


काठमाडौँ — लामो समयको विवादपछि एमसीसी प्रकरणले मूर्त रुप लिने देखिएको छ । बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा उक्त अनुदान पेश गर्ने तयारी भएसँगै एमसीसीमा दलहरु वार कि पार हुने तयारीमा छन् । निरन्तर सदन अवरोध भैरहेको अवस्थामा काँग्रेस भने होहल्लाकै बीच एमसीसी पास गर्ने तयारीमा छ ।

एमसीसी प्रकरणमा नेपाली राजनीतिक दलहरु विवादित भैरहेको अवस्थामा नेपाली काँग्रेसमा भने यो प्रकरणलाई लिएर अभुतपूर्व एकता देखिएको छ । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकमा बोल्ने अधिकांश नेताहरु यसको पक्षमा देखिए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता शशंक कोईरालाले एमसीसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टीको धारणा रहेको बताए । नेता कोईरालाले एमसीसीको रुपरेखाहरु नेपाल सरकारले नै बनाएकोले यसमा विवाद गर्नुको औचित्य नभएको बताए ।

त्यस्तै पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा.रामशरण महतले एमसीसी राष्ट्रिय हीतमा रहेकाले कुनै पनि हालतमा पारित गर्नुपर्ने बताए । उनले एमसीसीको बारेमा गलत आलोचना गरेर शक्तिशाली र सहयोगी राष्ट्रसँगको सम्बन्धमा दखल गर्न खोजिएको आरोप समेत लगाए । नेता महतले एमसीसी पारित गरेमा राष्ट्रको आर्थिक वृद्धि हुने, रोजगारीका अवसरहरु बढ्ने र पूर्वाधारको विकास हुने पनि बताए । उनले एमसीसीको बारेमा अमेरिकी सेनासँग सम्झौता हुने लगायतका भ्रमपूर्ण प्रचार गरिएको भन्दै एमसीसी नेपालको कानून अनुसार सम्झौता गरिएको बताए । उनले बीआरआई र इण्डोप्यासिफिक रणनीतिसँग एमसीसीको कुनै सम्बन्ध नरहेको बताए । नेता महतले एमसीसी सहयोग कुनै पनि मुलुकको हीत विपरित नभएको दाबीसमेत गरे ।

त्यसैगरी नेपाली काँग्रेसकी नेतृ सुजाता कोईरालाले एमसीसी पास गर्न ढिलाई गर्न नहुने बताइन् । उनले एमसीसीलाई सबै दलले अघि बढाएको बताउँदै विकासको योजना सबै दलले मिलेर पास गर्नुपर्ने बताइन् । उनले अनुदान लिन्न भन्नु हास्यास्पद भएकोले अन्र्तराष्ट्रिय सम्बन्धलाई राम्रो बनाइराख्न एमसीसी सदनबाट पास गर्नुपर्ने बताइन् । उनले नेपालमा ठूला अनुदान भित्र्याउन नदिने याड्यन्त्रकारी शक्ति रहेको भन्दै यसलाई हरेक पार्टीले समर्थन गरेर पास गर्नुपर्ने बताइन् ।

नेतृ कोईरालाले एमालेसहितका सबै दलहरुले सरकारमा रहँदा एमसीसी पास गर्नुपर्ने कुरा अघि सारेकोले अहिले विरोध गरेर दोहोरो चरित्र देखाउन नहुने बताइन् । उनले नेपाललाई एमसीसीले कब्जा गर्न नसक्ने जिकिर गरिन् ।