राजनीति

झुठो बोल्ने स्वास्थ्यमन्त्रीलाई पदमा बस्ने अधिकार छैन : एमाले


काठमाडौँ — प्रतिपक्षी दल नेकपा (एमाले) ले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ ।

मन्त्री खतिवडाले ‘पहिलो डोज खोप पाँच हजारमा किनेर लगाएको’ भनेर झुठो बोलेको भन्दै झुठ बोल्ने व्यक्ति मन्त्री पदमा रहन नमिल्ने एमालेले जिकिर गरेको छ ।

एमालेका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले मन्त्री खतिवडाले सिभिल अस्पताल, बानेश्वरमा पहिलो मात्रा खोप २०७७ फागुन १९ गते लगाएको अभिलेख सुरक्षित रहेको बताएका छन् ।

‘तत्कालीन सरकारले ०७७ फागुन १९ देखि २१ सम्म संघीय संसद्का सदस्यहरुलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षरसमेत गर्नुभएको छ’ भट्टराईले विज्ञप्ति प्रकाशित गरी भनेका छन्, ‘उक्त अभिलेखमा ६२ वर्षका खतिवडाले ब्याच नं ४१२० जेड ००४ को कोभिसिल्ड खोप लगाएको स्पष्ट छ ।’

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले अनुदानबाट प्राप्त गरेका र खरिद गरेका खोपहरुमध्ये २४ लाख खोप हराएको तथ्य ढाकछोप गर्न सरकारका तर्फबाट प्रयास भएको एमालेको आरोप छ ।

खोप नहराएको दावी गर्दै आएका मन्त्री खतिवडाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा आफू स्वयमले कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ अभिव्यक्ति दिएका थिए ।

‘स्वास्थ्यमन्त्री खतिवडाले पूर्ववर्ती सरकारलाई बद्नाम गर्नकै लागि आम जनसमुदायलाई गलत सूचना दिई कोभिडजस्तो संवेदनशील विषयमा अफवाह सिर्जना गर्नुभएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘ लक्षित वर्गले निःशुल्क खोप प्राप्त गर्ने खोप ऐन, २०७२ र खोप नियमावली, २०७४ को सामान्य ख्यालसमेत नगरी स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीबाट यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु निन्दनीय र आपत्तिजनक छ ।’

साथै, मन्त्रीको यस्तो गैरजिम्मेवार अभिव्यक्ति र व्यवहारप्रति संवेदनशील हुँदै उनलाई मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीको समेत गम्भीर ध्यानाकर्षण गराइएको छ ।