राजनीति

शुक्रबारका लागि कामु प्रधानन्यायाधीश कार्कीले बोलाए सर्वोच्चको पूर्ण बैठक


काठमाडौँ – संसदमा महाभियोग प्रस्तावसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेपछि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका दीपककुमार कार्कीले सर्वोच्चको पूर्ण बैठक बोलाउनुभएको छ ।

न्यायाधीशहरू सँगको छलफलपछि कार्कीले शुक्रबारका लागि सर्वोच्चको पूर्ण बैठक बोलाउनुभएको हो । जबरा निलम्बनमा परेपछि सर्वोच्चमा हाल १९ न्यायाधीश छन् । तेजबहादुर केसी, विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुँडाल बिदामा रहनुभएकोछ । बाँकी १६ न्यायाधीशको अनौपचारिक बैठकपछि कार्कीले पूर्ण बैठक बोलाउनुभएको हो ।

बिदामा रहेका न्यायाधीश पनि सहभागी हुन सक्ने गरी बैठकको मिति तय गरिएको बताइएको छ । सर्वाेच्चकै न्यायाधीशहरूले जबराको राजीनामाका लागि दबाब दिँदै आएका थिए । केही समय इजलास नै बहिष्कार गरेका न्यायाधीशहरू पछि जबरासँग बेन्च सेयर नगर्ने निर्णयसहित इजलास फर्किएका थिए ।

जबराविरुद्ध महाभियोग दर्ता भएपछि पहिलोपटक पूर्ण बैठक बस्न लागेको हो । संवैधानिक इजलास गठन, नेपाल बार एसोसिएसनको आन्दोलन लगायतका विषयमा छलफल हुने भएको छ ।