राजनीति

सिंहदरबारमा सर्वदलीय बैठक जारी, एमाले सहभागी भएन


काठमाडौँ — सभामुख अग्नि प्रसाद सापकोटाको आह्वानमा सर्वदलीय बैठक जारी रहेको छ । सोमबार दिउँसो २ बजेपछि सिंहदरबारमा बसेको उक्त बैठकमा एमालेबाहेक संसद्‍मा प्रतिनिध्व गर्ने दलका शीर्ष नेताहरू सहभागी छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरू बैठकमा छन् ।

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकको छलफल केन्द्रित हुने बताइएको छ । आइतबार प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता गरेपछि यसबारे छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए ।

नेकपा एमालेले भने सर्वदलीय बैठकमा सहभागी नहुने भन्दै सोमबार बिहानै जनाएको थियो । सभामुखको भूमिका र सरकारको गतिविधिप्रति आपत्ति जनाउँदै एमालेका नेताहरूले सर्वदलीय बैठकमा सहभागी नहुने बताएका हुन् ।