राजनीति

माधव नेपालसहित १४ सांसदविरुद्धको रिटमा सुनुवाइ भएन


काठमाडौँ — माधव नेपालसहित १४ सांसदलाई कारबाही र नेकपा एकीकृत समाजवादी पार्टी खारेज गर्न माग गर्दै परेको रिटमा आज पनि सुनुवाइ हुन सकेन ।
पेशीमा चढे पनि लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीले हटाउन माग गर्दै निवेदन दिएका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा उक्त रिट पेशी तोकिएको थियो ।

लुम्बिनी प्रदेश सभा सचिवालयबाट प्रतिरक्षामा खटिएका व्यक्तिमा रुघा खोकी र ज्वरो देखिएपछि कोभिड आशंका भएको भन्दै पेशीबाट हटाउन माग गरिएको थियो । त्यहीकारण सोमबारबाहेक अरु दिनको पेशीमा यथाशिघ्र सुनुवाइका लागि पेश गर्न आजको इजलासले आदेश दिएको छ ।

माधव नेपालसहित १४ सांसदलाई एमालेले गत साउनमा कारबाही गरेको थियो । तर सभामुख अग्नि सापकोटाले उनीहरुलाई कारबाही गरेको सूचना टाँस गरेका थिएनन् ।

त्यहीबीचमा उनीहरुसहितलाई राखेर माधव नेपालले नयाँ पार्टी दर्ता गरेका थिए । त्यसलाई समेत खारेज गर्न माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले वारेसमार्फत रिट दर्ता गराएका थिए । सर्वोच्चले यसअघि निर्वाचन आयोग र सभामुख सचिवालयबाट यससम्बन्धी निर्णय गर्दाका कागजात झिकाएको थियो ।