खेलकुद

यूएईसँग नेपाल २५ रनले पराजित


काठमाडौँ – विश्व टि–२० चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत यूएईसँग नेपाल २५ रनले पराजित भएको छ ।

ओमानमा मस्कटस्थित अल अमारतको ओमान क्रिकेट एकेडेमी मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गरेको नेपाललाई यूएईले १९३ रनको विशाल लक्ष्य दिएको थियो । जसमा नेपालले ५ विकेटको क्षतिमा १६७ रन मात्र बनाउन सक्यो ।

यूएईले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १९२ रन बनाएको थियो । सुरी र रोहन मुस्तफाको साझेदारी नै नेपालको जितका लागि बाधक बन्यो । यी दुईले दोस्रो विकेटका लागि ९७ रनको साझेदारी गरे ।

चिराग सुरीले अविजित ८४ रन बनाएको थियो । सुरीले ५३ बलमा पाँच चौका र पाँच छक्कासहित अविजित ८४ रन बनाए भने त्यस्तै मुस्तफाले ४९ रन बनाए । मुस्तफाले ३५ बलमा पाँच चौका र दुई छक्कासहित ४९ रन जोडे ।
नेपालका सन्दीप, आरिफ शेख र शाहब आलमले एकरएक विकेट लिए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सबभन्दा धेरै ४१ रन बनाए । ओपनर ज्ञानेन्द्र मल्ल र आसिफ शेखले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्रले २२ रन बनाए भने आसिफले ३४ रन जोडे । आसिफ र दीपेन्द्रसिंहले दोस्रो विकेटका लागि ३० रनको साझेदारी गरेको थियो ।
यूएईका काशिफ दाउद र रोहन मुस्तफाले समान दुई विकेट लिए । जुनैद सिद्धिकीले एक विकेट लिए ।

यस शुक्रबार भएको पहिलो खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो । नेपालले सिरिजको अन्तिम खेलमा सोमबार आयरल्यान्डसँग खेल्नेछ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले चारदेशीय सिरिज खेलिरहेको हो ।