राजनीति

गठबन्धनका तीन शीर्ष नेताबीच आज पनि छलफल


काठमाडौँ – सत्तारुढ गठबन्धनमा रहेका प्रमुख तीन दलका शीर्ष नेताबीच शनिबार पनि छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो ।

पछिल्लो समय अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संसदबाट पारित गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारुढ गठबन्धनभित्र विवाद छ । छलफलमा प्रधानमन्त्री देउवाले अब ढिला नगरी एमसीसीलाई संसद्मा टेबल गर्नुपर्ने बताउनुभएको थियो । तर, नेताद्वय प्रचण्ड र नेपालले प्रधानमन्त्रीको सो प्रस्तावलाई अस्वीकार गरेपछि आजको छलफल पनि निष्कर्षविहीन भएको छ ।