राजनीति

एमसीसी पास गर्ने बेला आएको छ, सभामुखले रोक्न मिल्दैन : डा. महत (भिडियोसहित)


काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले ल्याएको प्रस्ताव संसदमा सभामुखले रोक्न नमिल्ने बताएका छन् ।

चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘सरकारले प्रस्तावमा ल्याएपछि सभामुखले म यो संसदमा पेश गर्छु, यो गर्दिनँ भन्ने जिम्मेवारीभित्र पर्दैन । एमसिसीबारे संसदमा छलफल भए निकास निस्कन्छ ।’

सरकारले ल्याएका प्रस्ताव संसदमा टेबल गराउनु सभामुखको दायित्व भएको उनको भनाइ छ । उनले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताए । अन्य देशको सहयोगलाई हेर्ने दृष्टिकोण र एमसिसीलाई हेर्ने दृष्टिकोण फरक बनाउँदा परराष्ट्र सम्बन्धमा असन्तुलन आउने सक्ने बताए ।

उनले भने, ‘देशैपिच्छे अलग मापदण्डका आधारमा सहायता स्वीकार गर्ने हो भने परराष्ट्र सम्बन्ध असन्तुलन हुन्छ र देशलाई खतरा हुन्छ ।’

एमसीसीका विषयमा अन्योल खडा नगरी संसदबाट पास गर्नुपर्ने मत राखे । ‘एमसीसीमा अहिलेसम्म सरकारमा सहभागी दलहरूको सहभागिता रहेको छ । नेपालको स्वार्थका आधारमा आएको हो, बखेडा झिक्नु गलत प्रवृत्ति हो’ उनले भने । उनले कांग्रेस अधिवेशन रोकिएका १६ जिल्लामा फागुन १३ गते अधिवेशन हुने स्पष्ट पारे ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ कि हुँदैन ? भन्ने प्रश्नमा उनले भने, ‘गठबन्धनका विषयमा समय आएपछि छलफल हुन्छ । अहिले त्यसबारेमा छलफल गर्ने बेला भएको छैन ।’ दलहरूले आ-आफ्नो आवश्यकतानुसार छलफल गरेरमात्रै गठबन्धनका विषयमा टुङ्गो लाग्ने उनले बताए ।