राजनीति

निर्वाचनमा बहुमत ल्याउने ओलीको दाबी, मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न चेतावनी (भिडियोसहित)


काठमाडौँ — एमसीसीका कारण राजनीतिक वृत्त गिजोलिएको धेरै भयो । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषण गरे पनि राजनीतिक वृत्त एमसीसीमा नै केन्द्रित नै छ । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको चुनावी प्रशिक्षण उद्घाटन गर्दै राष्ट्रिय राजनीतिमा एमालेको धारण सार्वजनिक गरेका छन ।

स्थानीय निर्वाचनको मिति घोषणासँगै सिंगो मुलुक निर्वाचनमा केन्द्रित हुनुपर्ने हो । तर यतिवेला एमसीसी प्रकरणले देशको राजनीति क्षेत्र तातेकोे छ । एमसीसी पास गरेर मात्र जनतामाझ जाने कांग्रेसको दाउ छ भने अन्य सत्ता घटक दल चुनावपछि मात्र एमसीसीलाई अगाडि बढाउने मनस्थितिमा छन् । तर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने चुनावी तयारीमा जुटेको छ ।

शुक्रबार पार्टीको केन्द्रिय कार्यलय थापाथलीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव लक्षित स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ प्रशिक्षण कार्यक्रमको भर्चुवल उद्घाटन गरे । सो क्रममा झन्डै दुई घण्टा लामो भाषाण गरेका ओलीले राष्ट्रिय राजनीतिका विभिन्न मुद्धाहरुमा आफ्नो धारण समेत सार्वजनिक गरे । अझ भनौं ओली कार्यकर्तामाझ पार्टीको चुनावी योजना भन्दा पनि राष्ट्रिय मुद्धामा बढी केन्द्रित बने । सदन र सडक देखि आम सर्वसाधरणमा समेत पेचिलो र चासोपूर्ण बनेको एमसीसी, एमसीसीकै कारण बढेको विदेशी हस्तक्षेप, ओरालो लागेको अर्थतन्त्र, असन्तुलित परराष्ट्र नीति लगायतलाई प्रतिपक्षले आफनो एजेन्डा बनाएका छन ।

उनले न्युनतमा साझा कार्यक्रममा समेत एमसीसीबारे उल्लेख नगरेको भन्दै एमसीसीबारे आफुले गठबन्धनलाई प्रश्न गर्दा समेत जवाफ नमिलेको प्रष्ट्याए । सत्ता गठबन्धनले एमसीसीका बारेमा अत्यन्तै गैरजिम्मेवार र दुई जिब्रै चरित्र देखाएर देशलाई गम्भिर संकटमा पु¥याएको ओलीको आरोप छ ।

पार्टी विभाजन भएर आ–आफ्नो बाटोमा अघि बढेका माधव नेपाल र प्रचण्डलाई केपी ओलीले गाली नगर्ने कुरै भएन । माधव र प्रचण्डको बोली र व्यवहार नै उल्टो भएको आरोप ओलीले लगाए । गठबन्धन सरकार बनेको सात महिना देशको महत्वपूर्ण समय बर्बाद भएको ओलीले बताए ।

आफ्नो दवावका कारण सरकारले निर्वाचनको मिति घोषणा गरेको एमालेको दावी छ । तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने दवाव सरकारमा छ । यद्यपी पेचिलो बन्दै गएको एमसीसी साथै दलहरुभित्रको आन्तरिक द्धन्द्धका कारण चुनाव तोकिएकै मितिमा हुनेमा भने शंका कायमै छ ।