समाचार

वडाध्यक्षलाई विप्लवका कार्यकर्ताले दले मोसो


काठमाडौँ — कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष प्रेम खातीलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले कालो मोसो दलेका छन् ।

बिहीबार ६/७ जनाको समूहमा रहेका विप्लव कार्यकर्ताले बेलडाँडी गाउँपालिका–२ को कार्यालयमै वडाध्यक्ष खातीलाई कालो मोसो दलेका हुन् ।

वडाध्यक्षले भ्रष्टाचार गरेकाले ‘जनकारबाही स्वरुप’ कालो मोसो दलिएको विप्लव निकट युवा संघले बताएको छ । वडाध्यक्षले वडा कार्यालय गाउँपालिकामा राखेर अन्तै भाडा दिएको, लघुवित्तहरुलाई जमिनसहित १५ लाख दिएको, मनोमानी रुपमा कर्मचारी भर्ना गरेको, उपभोक्ता समितिद्वारा आफू अनुकुल काम गरेको आरोप विप्लव समूहले लगाएको छ ।

यसैगरी, वडा अध्यक्षले गाउँपालिका कार्यालयको पछाडी रहेको एकल महिलाहरुका लागि बनाएको भवनमा आर्थिक अनियमिता गरेको, वडा कार्यालयमा नजाने र कालिकिच उपभोक्ता समितिद्वारा निर्माण गरिएको सडकमा समेत आर्थिक अनियमितता गरेको युवा संगठन नेपाल कञ्चनपुरको आरोप छ ।

वडाध्यक्षलाई कालोमोसो दलेर दुर्व्यवहार गर्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।