समाचार

रुखबाट लडेर ओखलढुङ्गामा एक महिलाको मृत्यु


काठमाडौँ — ओखलढुङ्गाको पारामा रुखबाट लडेर एक महिलाको ज्यान गएको छ । सुनकोशी गाउँपालिका— ६ पाराकी ४४ वर्षीय प्रेमकुमारी आले मगरको रुखबाट लडेर बुधबार ज्यान गएको हो ।

गाईभैंसीलाई घाँस काट्न नजिकैको जंगलमा गएकी आलेको रुखबाट लडेर ज्यान गएको स्थानीय डिबी मगरले बताए । रुखबाट चिप्लिएर खसेकी उनको टाउँकोमा चोट लाग्दा गम्भीर घाइते भएकी थिइन् । आलेलाई उपचारका लागि लैजाने क्रममा एम्बुलेन्स आउन ढिला भएकोपछि ज्यान गएको मगरले बताए ।
विकट गाउँमा समय उपचार नपाउँदा ज्यान गुमाउनु पर्ने बाध्यता बनेको छ । गाउँमा सडकको सुबिधा नभएकाले आले जस्ता धेरैले अनाहकमा ज्यान गुमाउनु परेको छ । सडक निर्माण गर्न वर्षेनी लाखौं बजेट निकासा हुने गरेको भए पनि सडक निर्माण हुन नसकेको स्थानीय बताउँछन् ।