देश

शीर्ष नेतृत्व नै कुटनीति प्रोटोकलको धज्जी उडाउन उद्धत्त किन ? (भिडियोसहित)


काठमाडौँ – हरेक सार्वभौम र स्वतन्त्र मुलुकको परराष्ट्र नीति सञ्चालनमा राजनीतिक नेतृत्वको अहम भूमिका रहन्छ । तर पछिल्लो समय नेपालका राजनीतिक दल र दलका नेताहरुको स्वार्थ केन्द्रित राजनीतिक प्रवृत्तिका कारण मुलुकको परराष्ट्र मामिल थप नाजुक बन्दै गएको छ । नीति निर्माण तथा कार्यन्वयन गराउने शीर्ष नेतृत्व नै कुटनीति मर्यादा विपरीत गतिविधिमा सक्रिय बनेपछिे अन्तरािष्ट्रय समुदायमा मुलुकको कुटनीतिक छवी थप धमिलो बनेको छ ।

आइताबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी मुख्यालयलाई पठाएको संवेदनशिल र अति गोप्य पत्र सार्वजनिक भयो । गत असोज १३ मा सत्ता गठबन्धन दलले संसदबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने प्रतिबद्धता जनाउँदै वासिङ्टन डिसीस्थित एमसीसी मुख्यालयलाई पठाएको पत्र सार्वजनिक भए पश्चात नेपालको राजनीतिक वृत्त तरंगित बनेको छ ।

नेपालको कुटनीतिक आचारसंहिता २०६८ अनुसार विदेशीसँगका सम्झौता, प्रतिबद्धता एवम् कूटनीतिक पत्राचार गर्दा परराष्ट्र मन्त्रालयको पूर्वसहमति आवश्यक पर्ने वा पूर्व सहमतिसहित सहभागिता सुनिश्चिता गर्नुपर्ने उल्लेख छ । तर प्रधानमन्त्री शेर बहादुर देउवा र पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले एउटा विदेशी नियोगलाई गोप्यरुपमा पत्र पठाए । पत्र सार्वजनिक भएपछि सहसचिव स्तरीय पत्र देशको कार्यकारी हैसियतमा नै रहेका व्यतिmहरुले हस्तक्षर गर्नु आफैमा लज्जास्पद भएको भन्दै चौतर्फी आलोचना भएको छ ।

कुटनीतिक प्रक्रियामा शीर्ष नेतृत्वको सहभागिता त्रुटिपूर्ण रहेको गठबन्धनकै नेताहरु स्वीकार गर्छन । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले कर्मचारीले गर्नुपर्ने काम नेताहरुले गर्दा गडबढ भएको बताउँछन । प्रमुख प्रतिपक्ष दलका नेताहरु कुटनीतिमा गठबन्धन कच्चा र लाचार सावित भएको तर्क गर्छन ।

बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले कुटनीतिक नियोगलाई पठाएको पत्र एक उदाहरण मात्र हो । परराष्ट्र मामिला र कुटनीतिक अभ्यासमा नेपाल झन कमजोर बन्दै गएको छ । कुटनीतिक मर्यादाप्रति शीर्ष नेतृत्व नै वेखबर छन । उच्च पदस्थ व्यतिmहरुबाट कुटनीतिक मर्यादाको पटक पटक उलंघन हुँदै आएको छ । यसअघि तत्कालिन प्रधानमन्त्री केपी ओलीले रअ प्रमूख सामन्त गोयललाई बालुवाटारमै भेट्नुलाई यसको उदाहरण मान्न सकिन्छ ।

औपचारिक समारोहमा, सहभागिता, शिष्टाचार, पत्रचार जस्ता औपचारिक गतिविधिमा नेपालमा शीर्ष नेतृत्वले कुटनीतिक मर्यादा अर्थात प्रोटोकल विपरीतका गतिविधि हुनु चलन नै बनेको छ । यसले अन्तराष्टिय स्तरमा नेपालको कुटनीतिक छवीमा थप सन्देह पैदा गरेको छ ।