समाचार

८६ किलो गाँजासहित महोत्तरीबाट एक युवक पक्राउ


काठमाडौँ — प्रहरीले ८६ किलो गाँजासहित महोत्तरीबाट एक युवकलाई पक्राउ गरेको छ । काठमाडौँबाट सिन्धुली हुँदै बर्दिवासतर्फ आउँदै गरेको बा१२च ३९५५ नम्बरको बोलेरोबाट शुक्रबार साँझ गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका घर भएका ३१ वर्षीय रमेश राणा मगर छन् । बर्दिवास ३ गौरीडाँडा स्थित इलाका प्रहरी कार्यालयको अगाडी चेकपोष्टमा रोकेर जाँच गर्दा बोलेरोको हुटमा राखेर ल्याइएका अवस्थामा गाँजा फेला परेपछि मगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जानकारी दिए ।

विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जबाट खटिएको टिमसहित इलाका प्रहरी कार्यालय बर्दिवासले उक्त गाडी दिनभर निगरानीमा राखेको थियो ।​ पक्राउ परेका मगरलाई थुनामा राखेर कारबाही प्रक्रिया अघि वढाइने प्रहरीले जनाएको ।