खेलकुद

नेपाली फुटबल टोलीका प्रशिक्षक अल्मुताइरीलाई सम्मान


काठमाडौँ — सरकारले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अबदुल्लाह अल्मुताइरीलाई सम्मान गरेको छ ।

प्रधानामन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले साफ बीमामा उप-विजेता बनेको नेपाली टोलीका प्रशिक्षक अल्मुताइरीलाई नगदसहित शुक्रबार सम्मान गरेका हुन् ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मुधुसुदन उपाध्याय उपस्थित थिए । यस्तै अलमुताइरीले शुक्रबारै सरकारबाट पुरस्कार प्रपात गरेका सेन्ट्रल जोन विजेता महिला टोलीसँग पनि सेल्फी खिचाउँदै फोटो पोष्ट गरेका छन् ।

अलमुताइरीको प्रशिक्षणमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो । गत अक्टोबरमा माल्दिभ्समा भएको साफमा नेपाल फाइनल पुग्दै इतिहास रचेको थियो । तर फाइनलमा भने भारतसंग पराजित भयो ।

त्यही उपविजेता टोलीका खेलाडी र अफिसियललाई सरकारले पुसमा नगदसहित सम्मान गरेको थियो । इतिहास रच्न सफल टोलीका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख पुरस्कार र अफिसियललाई प्रमाणपत्र हस्तान्तरण गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो । त्यसबेला अल्मुताइरी नेपालमा उपस्थित भएका थिएनन् ।