पत्रपत्रिका

कोरोना विरुद्धको खोपमा ठूलो सफलता : विश्व स्वास्थ्य सङ्गठनले दियो बधाई


काठमाडौँ – नेपालले लक्षित जनसङ्ख्याको ७०.७ प्रतिशतले कोभिड –१९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८६.९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।

बिहीबारसम्म १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ जनामध्ये कम्तीमा एक मात्रा खोप लगाउने ८६.९ प्रतिशत र पूर्ण मात्रा लगाउने ७०.७ प्रतिशत पुगेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

यस्तै कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० मध्ये ६८.४ प्रतिशतले कम्तीमा एक मात्रा र ५१.१ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । यसअनुसार कुल जनसङ्ख्याको ५१.१ प्रतिशतले पूर्ण मात्रा र ६८.४ प्रतिशतले एक मात्रा खोप लगाएका छन् ।

नेपालले ७० प्रतिशतभन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप लगाएकोमा विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई बधाई दिएको छ । सङ्गठनको नेपालस्थित कार्यालयले उसको आधिकारिक फेसबुक र ट्विटर खातामा १८ वर्ष माथिका जनसङ्ख्याको ७० प्रतिशत नागरिकले पूर्ण खोप लगाएर कोसेढुङ्गा पार गरेको उल्लेख गरेको छ । गोरखापत्र दैनिकबाट